जनकपुरधाम, १६ जेठ । महोत्तरीको बर्दिबासमा सञ्चालित होटल तथा पर्यटन व्यवसायलाई लक्षित गर्दै केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत तथ्यहीन तथा अतिरञ्जित सामग्री प्रसारण गरिएको भन्दै व्यवसायीहरूले आपत्ति जनाएका छन् ।

उनीहरूले बेलाबेलामा हुने घटनालाई अनावश्यक रूपमा बढाइचढाइ गरी प्रस्तुत गर्दा पर्यटन व्यवसायीहरूको मनोबल कमजोर बनाउने प्रयास भएको आरोप लगाएका छन् ।

गत जेठ ११ गते बर्दिबास नगरपालिका–३ स्थित कालापानी क्षेत्रमा वन कर्मचारी र स्थानीयबीच उत्पन्न विवादपछि विकसित परिस्थितिलाई लिएर व्यवसायीहरूलाई समेत दोषी देखाउने गरी समाचार सम्प्रेषण गरिएको भन्दै होटल तथा पर्यटन व्यवसायी संघले आफ्नो असन्तुष्टि सार्वजनिक गरेको हो ।

बर्दिबासस्थित होटल गौतममा नेपाल पत्रकार महासंघका केन्द्रीय लेखा संयोजक केसी लामिछाने, महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बन्जारा तथा सदस्य त्रिलोकी यादवसँग भएको छलफलमा व्यवसायीहरूले आफूहरूमाथि पूर्वाग्रही ढंगले आरोप लगाइएको गुनासो गरे ।

छलफलमा होटल तथा पर्यटन व्यवसायी संघ मधेश प्रदेशका अध्यक्ष हिरालाल गौतम, महोत्तरी जिल्ला अध्यक्ष गुञ्जबहादुर कार्कीलगायत प्रदेश तथा जिल्ला तहका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

छलफलपछि संघले प्रेस विज्ञप्ति जारी गर्दै घटनाको वास्तविकता ओझेलमा पार्ने गरी केही सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति आपत्ति जनाएको छ ।

महोत्तरी जिल्ला अध्यक्ष गुञ्जबहादुर कार्कीद्वारा हस्ताक्षरित विज्ञप्तिमा कालापानी घटनापछि बर्दिबासस्थित पानस होटल र भण्डारी होटलका सञ्चालकलाई लक्षित गर्दै दोषारोपण गरिएको समाचारले सत्य तथ्यलाई विकृत बनाउने र समाजमा भ्रम फैलाउने काम गरेको उल्लेख गरिएको छ ।

विज्ञप्तिअनुसार जेठ १२ गते बर्दिबास नगरपालिकाका जनप्रतिनिधि, सुरक्षा निकाय तथा सरकारी अधिकारीहरूको सहभागितामा सम्पन्न बैठकमा वन कार्यालयका कर्मचारीबाट भएको व्यवहारलाई गल्ती भएको स्वीकार गरिएको थियो ।

वन कार्यालय प्रमुख अजय मिश्रले स्थानीयको घरमै पुगेर लालपुर्जा माग्ने तथा दशकौँदेखि बसोबास गर्दै आएका नागरिकलाई घर खाली गर्न दबाब दिने कार्य अनुचित भएको स्वीकार गर्दै सार्वजनिक रूपमा माफी मागेका थिए ।

तर, राज्य पक्षले गल्ती स्वीकार गरिसकेको अवस्थामा समेत व्यवसायी र होटल सञ्चालकमाथि विभिन्न आरोप लगाइनु चरित्रहत्या गर्ने प्रयास भएको संघको भनाइ छ ।

विज्ञप्तिमा भनिएको छ, ‘घटनाको वास्तविक पक्षलाई बेवास्ता गर्दै व्यवसायीलाई दोषी करार गर्ने प्रयासले समाजमा भ्रम सिर्जना गरेको छ ।’

संघले सामाजिक सञ्जालमा वन कार्यालयका सात जना कर्मचारीलाई ‘जिउँदै जलाएर हत्या गर्न खोजिएको’ भन्ने आशयका पोस्टहरू समेत भ्रामक र उत्तेजनापूर्ण रहेको जनाएको छ ।

यस्ता आधारहीन सामग्रीले सामाजिक सद्भाव बिगार्ने र अनावश्यक तनाव सिर्जना गर्ने भन्दै संघले जिम्मेवार व्यक्तिमाथि कानुनी कारबाहीको माग गरेको छ ।

होटल तथा पर्यटन व्यवसायी संघ मधेश प्रदेशका अध्यक्ष गौतमले राज्यका निकायले आफ्नो कमजोरी स्वीकार गरिसकेको अवस्थामा पनि व्यवसायी तथा होटलहरूलाई पूर्वाग्रहपूर्ण ढंगले आरोपित गरिनु दुःखद भएको बताए ।

उनले घटनाको वास्तविकता सार्वजनिक गरी दोषारोपणको राजनीति अन्त्य गर्न राज्यले आवश्यक छानबिन गर्नुपर्ने धारणा राखे ।

उनले पर्यटन र आतिथ्य क्षेत्र प्रदेशको अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएको उल्लेख गर्दै कुनै एक घटनालाई आधार बनाएर सम्पूर्ण व्यवसायिक समुदायलाई बदनाम गर्ने प्रयासले पर्यटन प्रवर्द्धनमा नकारात्मक असर पार्ने चेतावनी दिए ।

व्यवसायीहरूले तथ्यमा आधारित र जिम्मेवार पत्रकारिताको अपेक्षा गर्दै घटनाको निष्पक्ष अनुसन्धान तथा सत्यतथ्य सार्वजनिक गर्न सम्बन्धित निकायसँग माग गरेका छन् ।

उनीहरूले बर्दिबासलाई पर्यटन तथा आतिथ्य क्षेत्रको महत्वपूर्ण केन्द्रका रूपमा विकास गर्न सबै पक्षले सकारात्मक वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए ।