जनकपुरधाम, १५ जेठ । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रममा विकास, रोजगारी, कृषि, स्वास्थ्य, शिक्षा, वातावरण र प्रविधिलाई केन्द्रमा राख्दै विभिन्न आकर्षक नारामार्फत आफ्नो प्राथमिकता सार्वजनिक गरेको छ ।

शुक्रबार प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णले प्रदेशसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा ‘मेड इन मधेश, समृद्ध प्रदेश’लाई मूल नाराका रूपमा अघि सारिएको छ ।

सरकारले प्रदेशको भौगोलिक अवस्थिति, विशिष्ट पहिचान र जनसांख्यिक लाभको उपयोग गर्दै समृद्ध मधेश निर्माण गर्ने प्रतिबद्धता जनाएको छ ।

सरकारले ‘उत्पादनशील मधेश, आत्मनिर्भर देश’ अभियानमार्फत कृषि उत्पादन वृद्धि र खाद्यान्नमा आत्मनिर्भरता हासिल गर्ने लक्ष्य अघि सारेको छ ।

त्यसैगरी ‘किसानको शान, मधेशको मखान’ नारासहित मखान खेतीको व्यावसायिक विस्तारलाई प्राथमिकतामा राखिएको छ ।

‘कृषिको मुख्य आधार, माटोको स्वास्थ्य सुधार’ नारामार्फत जैविक तथा प्राङ्गारिक मलको प्रयोगलाई प्रोत्साहन गर्ने नीति लिइएको छ भने कृषि यान्त्रीकरण र आधुनिकीकरणका लागि ‘कृषि रूपान्तरणको आधार, प्रविधि र पूर्वाधार’ कार्यक्रम सञ्चालन गरिने उल्लेख गरिएको छ ।

रोजगारी सिर्जनालाई प्राथमिकता दिँदै सरकारले ‘आफ्नै प्रदेश, आफ्नै रोजगारी’ नारासहित कम्तीमा एक हजार जनालाई रोजगारी दिने लक्ष्य तय गरेको छ ।

सूचना प्रविधि क्षेत्रमा युवालाई आकर्षित गर्न ‘डिजिटल मधेश, प्रविधिमैत्री प्रदेश’ अवधारणाअन्तर्गत आइटी हब तथा इन्कुबेसन सेन्टर स्थापना गरिने नीति कार्यक्रममा उल्लेख छ ।

शिक्षा क्षेत्रमा ‘अप्पन बच्चाके स्कुल पठाऊ, साक्षरता के दीप जलाऊ’ नारामार्फत सघन साक्षरता अभियान सञ्चालन गरिने भएको छ ।

त्यस्तै ‘शिक्षित छोरीः सुरक्षित मधेश, उद्यमशील नारीः समृद्ध प्रदेश’ नारासहित पुरानो ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमलाई परिमार्जन गरिएको सरकारले जनाएको छ ।

महिला सशक्तीकरणलाई पनि प्राथमिकतामा राख्दै ‘महिलाको सिप र साहस, मधेश विकासको विश्वास’ कार्यक्रममार्फत महिलालाई सीप, प्रविधि र सहुलियतपूर्ण वित्तीय पहुँच उपलब्ध गराइने नीति ल्याइएको छ ।

साथै ‘समावेशी समाज, सशक्त मधेश’ नाराअन्तर्गत महिला, दलित, युवा, अपाङ्गता भएका व्यक्ति तथा सीमान्तकृत समुदायलाई लक्षित स्वरोजगार कार्यक्रम सञ्चालन गरिने भएको छ ।

स्वास्थ्य क्षेत्रमा ‘पूर्ण खोप, सुरक्षित मातृत्व र सन्तुलित आहारः स्वस्थ र समृद्ध मधेशको मुख्य आधार’ नारासहित मातृ–शिशु स्वास्थ्य तथा पोषण कार्यक्रम विस्तार गरिने भएको छ ।

‘मेरो स्वास्थ्य–मेरो जिम्मेवारी’ अभियानमार्फत स्थानीय तहसँग सहकार्य गरेर गाउँबस्तीसम्म आधारभूत स्वास्थ्य सेवा पुर्‍याउने लक्ष्य सरकारले लिएको छ ।

वातावरण संरक्षणका लागि ‘प्लास्टिकमुक्त मधेश, स्वच्छ र स्वस्थ परिवेश’ नाराअन्तर्गत एकल प्रयोगका प्लास्टिकमा प्रतिबन्ध लगाउने नीति ल्याइएको छ ।

त्यस्तै ‘एक रुखको नाश, दश रुख विकास’ र ‘हरित मधेश, जोगाउ प्रदेश’ अभियानमार्फत वृक्षारोपणलाई व्यापक बनाइने सरकारको योजना छ ।

युवालाई लागुऔषध दुर्व्यसनबाट टाढा राख्न ‘खेलकुद रोजौँ, लागुऔषध त्यागौँ’ अभियान अघि सारिएको छ भने खेलकुद पूर्वाधार विस्तार र प्रतिभा पहिचानका कार्यक्रमसमेत नीति तथा कार्यक्रममा समेटिएका छन् ।

यस्तै, ‘विपद् पूर्व तयारीः हाम्रो जिम्मेवारी’ नारामार्फत विपद् व्यवस्थापनका लागि एकीकृत प्रणाली विकास गर्ने योजना सरकारले अघि सारेको छ ।

यातायात क्षेत्रमा ‘विद्युतीय सवारी वितरण र विस्तार, श्रमिकलाई रोजगारीको बलियो आधार’ नारासहित विद्युतीय सवारी प्रयोगलाई प्रोत्साहन गर्ने तथा सार्वजनिक–निजी साझेदारीमा चार्जिङ स्टेशन स्थापना गर्ने नीति पनि कार्यक्रममा समावेश गरिएको छ ।