जनकपुरधाम, १५ जेठ । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

शुक्रबार बसेको प्रदेशसभा बैठकमा प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

२७ पृष्ठमा समेटिएको नीति तथा कार्यक्रममा कृषि, उत्पादन र आत्मनिर्भर अर्थतन्त्रलाई मुख्य प्राथमिकतामा राखिएको छ ।

सरकारले ‘मेड इन मधेश, समृद्ध प्रदेश’ तथा ‘उद्यमशील मधेश, आत्मनिर्भर देश’ भन्ने नारालाई केन्द्रमा राख्दै उत्पादनमुखी अर्थतन्त्र निर्माणमा जोड दिएको छ ।

नीति कार्यक्रममा कृषिक्षेत्रको आधुनिकीकरण, स्थानीय उत्पादनको प्रवर्द्धन तथा कृषिजन्य वस्तुको बजारीकरणलाई प्राथमिकता दिइएको छ ।

विशेषगरी मधेशमा उत्पादन हुँदै आएको मखानालाई ब्रान्डिङ गरी व्यावसायिक रूपमा विस्तार गर्ने नीति लिइएको छ ।

सरकारले ‘किसानको शान, मधेशको मखान’ नारालाई आत्मसात गर्दै मखानाको प्याकेजिङ, लेबलिङ र ब्रान्डिङमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पहिचान स्थापित गर्ने योजना अघि सारेको जनाएको छ ।

यस्तै, नीति कार्यक्रममा कृषि उत्पादन वृद्धि, रोजगारी सिर्जना, साना तथा घरेलु उद्योग प्रवर्द्धन, उद्यमशीलता विकास र प्रदेशको आर्थिक आत्मनिर्भरता हासिल गर्ने लक्ष्य समेटिएको छ ।

सरकारले स्थानीय स्रोत, साधन र उत्पादनलाई प्राथमिकता दिँदै आर्थिक विकासलाई गति दिने प्रतिबद्धता जनाएको छ ।