पत्रकार महासंघ मधेशको आफ्नै भवन निर्माण सुरु, मन्त्री महतोद्वारा शिलान्यास

जनकपुरधाम, १५ जेठ । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिको आफ्नै भवन निर्माण कार्य सुरु भएको छ ।
जनकपुरधाम उपमहानगरपालिका–४ स्थित महासंघको स्वामित्वमा रहेको जग्गामा एक कार्यक्रमकाबीच भवनको शिलान्यास गरिएको हो ।
भवन निर्माणको शिलान्यास मधेश प्रदेशका गृह, सञ्चार तथा कानून मन्त्री फकिरा महतो ले पूजा अर्चना गर्दै गरेका हुन् । कार्यक्रममा बोल्दै मन्त्री महतोले पत्रकार महासंघको भवन निर्माण कार्य सम्पन्न गर्न प्रदेश सरकारको पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।
उनले मधेश प्रदेश सरकारले यसअघि नै भवन निर्माणका लागि २० लाख रुपैयाँ बजेट विनियोजन गरिसकेको उल्लेख गर्दै आगामी बजेटमा समेत आवश्यक रकम छुट्याइने स्पष्ट पारे । सञ्चार क्षेत्रको सुदृढीकरण तथा पत्रकारहरूको संस्थागत विकासका लागि सरकार सकारात्मक रहेको उनको भनाइ थियो ।

नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले भवन निर्माणका लागि गुठी संस्थानबाट ४ कठ्ठा जग्गा लिजमा प्राप्त गरेको जनाएको छ । जनकपुरधाम–४ स्थित तैनाथी गुठीको उक्त जग्गामा अब महासंघको आफ्नै भवन निर्माण हुने भएको हो ।
शिलान्यास कार्यक्रममा मधेश प्रदेशका आठवटै जिल्लाबाट सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागी पत्रकारहरूले आफ्नै भवन निर्माण सुरु हुनु महासंघका लागि ऐतिहासिक उपलब्धि भएको बताए ।


