महोत्तरी, १५ जेठ । १९औँ गणतन्त्र दिवसको अवसरमा महोत्तरीमा प्रभातफेरीसहित विभिन्न कार्यक्रम आयोजना गरी दिवस मनाइएको छ ।

जिल्ला स्तरीय गणतन्त्र दिवस समारोह समितिको आयोजनामा शुक्रबार बिहान जलेश्वरमा प्रभातफेरी कार्यक्रम सम्पन्न गरिएको हो ।

जलेश्वरस्थित सदरमुकाम क्षेत्रको नगर परिक्रमा गर्दै निकालिएको प्रभातफेरीमा महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, जलेश्वर नगरपालिकाका नगरप्रमुख सुरेश साह सोनार, मटिहानी नगरपालिकाका नगरप्रमुख हरिप्रसाद मण्डल लगायत विभिन्न स्थानीय तहका जनप्रतिनिधि, सुरक्षा निकायका अधिकारी, सरकारी कार्यालयका कर्मचारी तथा स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको थियो ।

प्रभातफेरी सम्पन्न भएपछि सहभागीहरूले शहीदहरूको शालिकमा माल्यार्पण गर्दै लोकतान्त्रिक आन्दोलनमा योगदान दिने सहिदप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए । गणतन्त्र दिवसको अवसरमा जिल्लामा अन्य सचेतनामूलक तथा औपचारिक कार्यक्रमहरू समेत आयोजना गरिएको आयोजक समितिले जनाएको छ ।

नेपालमा २०६५ साल जेठ १५ गते दुई सय ५० वर्षभन्दा लामो राजतन्त्रको अन्त्य गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना गरिएको थियो । सोही ऐतिहासिक दिनको सम्झनामा हरेक वर्ष जेठ १५ गते गणतन्त्र दिवस मनाइँदै आएको छ ।