१५औँ महाधिवेशन एकताको आधार बन्नुपर्छ: प्रकाशमान सिंह

जनकपुरधाम, १४ जेठ । नेपाली कांग्रेसका पूर्वउपसभापति प्रकाशमान सिंहले पार्टीभित्रको आन्तरिक विभाजन अन्त्य गर्दै १५औँ महाधिवेशनलाई एकताको महाधिवेशनका रूपमा अघि बढाउनुपर्ने बताएका छन् ।
नेपाली कांग्रेस धनुषा–३ का क्षेत्रीय सभापति स्वर्गीय धिरेन्द्र निधिको १३औँ दिनको पुण्यतिथिको अवसरमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै नेता सिंहले मुलुक र पार्टी दुवै चुनौतीपूर्ण अवस्थाबाट गुज्रिरहेको उल्लेख गर्दै कांग्रेस कार्यकर्ताहरू एकढिक्का हुनुपर्नेमा जोड दिए ।
उनले भदौ २३ र २४ गतेको आन्दोलनपछिको राजनीतिक अवस्थाले पार्टीलाई थप जिम्मेवार बनाएको भन्दै विशेष महाधिवेशन पक्षधर र नियमित महाधिवेशन पक्षधरबीचको मनोभावना बुझेर निष्पक्ष र स्वच्छ ढंगले १५औँ महाधिवेशन सम्पन्न गर्नुपर्ने बताए ।
सिंहले हाल जारी सदस्यता अद्यावधिक प्रक्रियामाथि पनि असन्तुष्टि जनाउँदै अद्यावधिक गर्ने मात्र कांग्रेसी र नगर्ने कार्यकर्तालाई बेवास्ता गर्ने सोच उचित नभएको टिप्पणी गरे । उनले पार्टीभित्र सबैलाई समेटेर अघि बढ्नुपर्ने आवश्यकता औंल्याए ।

कार्यक्रममा कांग्रेस नेता कृष्ण प्रसाद सिटौलाले लोकतन्त्र, संघीयता, समावेशिता र लोकतान्त्रिक पद्धतिको रक्षाका लागि अझै संघर्ष आवश्यक रहेको बताए ।
नेपाली कांग्रेस धनुषा–३ का क्षेत्रीय सभापति रामचन्द्र पजियारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहभागी नेताहरूले कांग्रेस कमजोर हुँदा मुलुकसमेत राजनीतिक संकटतर्फ धकेलिएको धारणा राखेका थिए ।


