जेठ १६ गते जनकपुरधाममा ‘मिस मिथिलानारी नेपाल २०२६’ को पहिलो अडिसन

जनकपुरधाम, १४ जेठ । सौन्दर्य प्रतियोगिता ‘मिस मिथिलानारी नेपाल २०२६’ को पहिलो अडिसन आगामी जेठ १६ गते जनकपुरधाममा आयोजना हुने भएको छ ।
मिथिला संस्कृति, भाषा र महिला सशक्तीकरणलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।
आयोजक थर्ड आई स्टुडियोज प्रालिले ‘द ब्युटी अफ मिथिला’ नारासहित प्रतियोगिता सञ्चालन गर्न लागिएको जानकारी दिएको हो ।
प्रतियोगितामार्फत मिथिलाको सांस्कृतिक पहिचान संरक्षणसँगै महिलाको प्रतिभा, आत्मविश्वास र नेतृत्व क्षमताको विकासमा जोड दिइने बताइएको छ ।
आयोजक संस्थाका प्रमुख हरिश जायसवालले यो कार्यक्रम सौन्दर्य प्रतियोगिता मात्र नभई मिथिला नारीको पहिचान र सशक्तीकरणसँग जोडिएको अभियान भएको बताए ।
प्रतियोगिताका लागि अडिसन फर्म खुला भइसकेको छ भने इच्छुक सहभागीहरूले ईसेवा एपमार्फत आवेदन दिन सक्नेछन् ।
जनकपुरधामपछि काठमाडौंमा पनि अडिसन कार्यक्रम सञ्चालन गरिने आयोजकले जनाएको छ ।


