वीरगञ्ज नाकाबाट पेट्रोलियम पदार्थ आयात १६ प्रतिशतले बढ्यो

पर्सा, १४ जेठ । वीरगञ्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको पहिलो १० महिनामा रू एक खर्ब ८१ अर्ब ७० करोडभन्दा बढी मूल्यका विभिन्न पेट्रोलियम पदार्थ आयात भएका छन् ।
गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यस वर्ष पेट्रोलियम पदार्थको आयात मूल्य १६ दशमलव ३५ प्रतिशतले वृद्धि भएको हो ।
वीरगञ्ज भन्सार कार्यालयका अनुसार गत आवको पहिलो १० महिनामा रू एक खर्ब ५६ अर्ब १७ करोड बराबरका पेट्रोलियम पदार्थ आयात भएका थिए । यस वर्ष भने आयात रकममा करिब रू २५ अर्ब ५३ करोडले वृद्धि भएको देखिएको छ ।
भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार पेट्रोलियम पदार्थ आयातबाट मात्रै चालु आवको १० महिनामा रू ६७ अर्ब १९ करोड राजस्व सङ्कलन भएको छ ।
कार्यालयका तथ्याङ्कअनुसार सबैभन्दा बढी डिजेल आयात भएको छ । चालु आवको १० महिनामा रू एक खर्ब ५७ करोड मूल्य बराबरको आठ लाख ९५ हजार २४६ किलोलिटर डिजेल आयात गरिएको छ । गत आवको सोही अवधिमा ९ लाख ८५७ किलोलिटर डिजेल आयात हुँदा यसको मूल्य रू ७९ अर्ब ५७ करोड रहेको थियो ।
त्यसैगरी, चालु आवमा रू ३५ अर्ब ७९ करोड मूल्य बराबरको तीन लाख ९० हजार ६१५ किलोलिटर पेट्रोल आयात भएको छ । गत आवको सोही अवधिमा तीन लाख ६७ हजार ३४४ किलोलिटर पेट्रोल आयात हुँदा यसको मूल्य रू ३१ अर्ब ७१ करोड थियो ।
एलपीजी ग्यासको आयात भने केही घटेको देखिएको छ । चालु आवको १० महिनामा रू २५ अर्ब ५४ करोड मूल्य बराबरको २४ करोड २७ लाख तीन हजार १५० किलोग्राम एलपीजी ग्यास आयात भएको छ । गत आवको सोही अवधिमा भने रू ३० अर्ब २८ करोड मूल्य बराबरको २६ करोड ४१ लाख १४ हजार ३२६ किलोग्राम एलपीजी ग्यास आयात गरिएको थियो ।
पेट्रोलियम पदार्थको बढ्दो आयातसँगै वीरगञ्ज नाका सरकारको प्रमुख राजस्व सङ्कलन केन्द्रका रूपमा अझ महत्वपूर्ण बन्दै गएको छ ।


