जनकपुरधाम, १४ जेठ । मिटरब्याज पीडितहरूले आगामी मंगलबारदेखि धनुषा जिल्ला अदालत घेराउ गर्ने घोषणा गरेका छन् ।

मिटरब्याजविरुद्ध किसान मजदुर आन्दोलन नेपाल मिथिला कमाण्डका इन्चार्ज मोहन महतोले मिथिला कमाण्ड र भोजपुरा कमाण्डको संयुक्त नेतृत्वमा जेठ १९ गतेदेखि दुईदिने शान्तिपूर्ण घेराउ कार्यक्रम सञ्चालन गरिने जानकारी दिएका हुन् ।

बिहीबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महतोले पीडितहरूले लामो समयदेखि न्यायको माग गर्दै आए पनि सरकारले समस्या समाधानतर्फ ठोस पहल नगरेकाले आन्दोलन थप सशक्त बनाउन बाध्य भएको बताए । उनले आवश्यक परे सडकसमेत घेराउ गर्ने चेतावनी दिए ।

महतोका अनुसार विभिन्न समयमा गृहमन्त्री फेरिए पनि मिटरब्याज पीडितको समस्या समाधान हुन नसकेको भन्दै केही दिनअघि जिल्ला प्रशासन कार्यालय धनुषा अगाडि पनि शान्तिपूर्ण धरणा दिइएको थियो ।

उनले प्रदेशभरबाट करिब ८ देखि १० हजारसम्म पीडित घेराउ कार्यक्रममा सहभागी हुने दाबी गरे ।

पत्रकार सम्मेलनमा संघर्ष समितिका केन्द्रीय सदस्य तथा पीडित सर्वनारायण रायले अदालतबाट पीडितभन्दा साहु पक्षलाई बढी संरक्षण हुने गरेको आरोप लगाए ।

उनले मिटरब्याज पीडितले निष्पक्ष न्याय नपाएको भन्दै आन्दोलनलाई थप सशक्त बनाइने बताए ।