जनकपुरधाम, १४ जेठ । मुस्लिम धर्मावलम्बीहरूको दोस्रो महान् पर्व बकर इद आज देशभर श्रद्धा र उल्लासका साथ मनाइँदै छ ।

पर्वका अवसरमा मुस्लिम समुदायले बिहानै स्नान गरी नजिकका मस्जिद तथा इदगाहमा पुगेर सामूहिक नमाज अदा गरेका छन् ।

जनकपुरधामसहित मधेशका विभिन्न जिल्लामा पनि मुस्लिम समुदायका मानिसहरू मस्जिदमा भेला भएर नमाज पढ्नुका साथै एकआपसमा शुभकामना आदानप्रदान गरेका छन् ।

इदुल फित्र अर्थात् रमजान पर्व सम्पन्न भएको करिब ७० दिनपछि बकर इद मनाउने धार्मिक परम्परा रहेको छ । यस पर्वलाई त्याग, समर्पण र आस्थाको प्रतीकका रूपमा लिइन्छ ।

इस्लाम धर्मग्रन्थअनुसार अल्लाहको आदेश पालनाका लागि हजरत इब्राहिमले आफ्ना प्रिय पुत्र इस्माइललाई कुर्बानी दिन तयार भएको घटनाको सम्झनामा बकर इद मनाउने गरिएको धार्मिक विश्वास छ ।

अल्लाहप्रति पूर्ण समर्पण देखेपछि इस्माइलको सट्टा दुम्बाको कुर्बानी भएको मान्यता मुस्लिम समुदायमा रहेको छ ।

यस अवसरमा मुस्लिम धर्मावलम्बीहरूले धार्मिक विधिअनुसार जायज मानिएका जनावरको कुर्बानी दिने परम्परा पनि निर्वाह गर्दै आएका छन् ।

पर्वका अवसरमा विभिन्न स्थानमा सुरक्षा व्यवस्था समेत कडा पारिएको स्थानीय प्रशासनले जनाएको छ ।