जनकपुरधाम, १४ गते । १९औँ गणतन्त्र दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय धनुषाले जनकपुरधाममा सरसफाइ कार्यक्रम सञ्चालन गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाको आयोजनामा बिहीबार बिहान जनकपुरधाम उपमहानगरपालिका–४ स्थित तिरहुतिया गाछी चौरमा सरसफाइ अभियान सञ्चालन गरिएको हो ।

प्रहरी उपरीक्षक अमरेन्द्र बहादुर सिंहको नेतृत्वमा करिब ७५ जना प्रहरी कर्मचारी सहभागी भई चौर तथा आसपासका क्षेत्रको सरसफाइ गरेका थिए ।

बिहान साढे ६ बजेदेखि सुरु भएको कार्यक्रम करिब पौने ९ बजे सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

गणतन्त्र दिवसलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै वातावरण संरक्षण तथा सरसफाइप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको प्रहरीले जनाएको छ ।