जनकपुरधाम, १३ जेठ । महोत्तरीको जलेश्वर नगरपालिकामा पछिल्लो समय सुशासन, पारदर्शिता र सेवा प्रवाहलाई लिएर नागरिकस्तरमा असन्तुष्टि बढ्दै गएको छ ।

विकास निर्माणका काममा देखिएको सुस्त गति, योजनाको कार्यान्वयनमा पारदर्शिताको अभाव तथा जनप्रतिनिधिहरूको कमजोर जवाफदेहिताका कारण नगरपालिकाको कार्यशैलीमाथि प्रश्न उठ्न थालेको हो ।

नेपाली कांग्रेसका युवा नेता डा. सज्जन ठाकुरका अनुसार नगरभित्र सडक मर्मत, ढल व्यवस्थापन, सरसफाइ, खानेपानी, स्वास्थ्य तथा शिक्षाजस्ता आधारभूत क्षेत्र अझै व्यवस्थित हुन सकेका छैनन् ।

नगरपालिकाले सार्वजनिक गरेका योजनाहरू व्यवहारमा प्रभावकारी रूपमा कार्यान्वयन नभएको गुनासो सर्वसाधारणले गर्दै आएका छन् ।

कतिपय योजनामा बजेट विनियोजन भए पनि काम अपेक्षाअनुसार नदेखिएको आरोपसमेत लाग्ने गरेको छ ।

डा. ठाकुर भन्छन्,’नगरपालिकाले जनताको आवश्यकताभन्दा राजनीतिक प्राथमिकता र समूहगत प्रभावलाई बढी महत्व दिन थालेको अनुभूति भइरहेको छ । प्रशासनिक काममा ढिलाइ, सेवाग्राहीले झेल्नुपरेको हैरानी तथा निर्णय प्रक्रियामा पारदर्शिताको कमीले जलेश्वर नगरपालिकाप्रतिको विश्वास कमजोर बन्दै गएको छ ।’

विशेषगरी युवाहरू रोजगारी र अवसरको खोजीमा बाहिरिन बाध्य भइरहेका बेला नगरस्तरमा दीर्घकालीन योजना अभाव देखिएको उनको टिप्पणी छ ।

शिक्षा क्षेत्रमा गुणस्तर सुधारका ठोस कार्यक्रम नदेखिनु, स्वास्थ्य संस्थाहरूमा पर्याप्त सेवा नहुनु तथा नगरभित्रको वातावरणीय व्यवस्थापन कमजोर हुनु अहिलेका प्रमुख चुनौतीका रूपमा रहेको उनले बताए ।

राजनीतिक रूपमा पनि जलेश्वरको अवस्था बहसको विषय बन्न थालेको छ ।

लोकतान्त्रिक प्रणालीमा प्रतिपक्षको भूमिका प्रभावकारी निगरानी र खबरदारी गर्नु भए पनि नगरसभादेखि सार्वजनिक मञ्चसम्म प्रतिपक्षको सक्रियता कमजोर देखिएको ठाकुरको आरोप छ ।

नागरिक सरोकारका विषयमा सशक्त आवाज नउठ्दा जनतामा निराशा बढेको उनको भनाइ छ ।

‘स्थानीय तहमा बलियो प्रतिपक्ष नहुँदा सत्ता पक्षमाथि आवश्यक दबाब सिर्जना हुन सक्दैन । जसका कारण अनियमितता, ढिलासुस्ती र कमजोर कार्यसम्पादनलाई चुनौती दिने वातावरण कमजोर बन्छ,’उनले भने ।

स्थानीय समाजसेवीहरू पनि नगरको समग्र विकासका लागि सत्ता र प्रतिपक्ष दुवैले आत्मसमीक्षा गर्नुपर्ने बताउँछन् । उनीहरूका अनुसार व्यक्तिगत स्वार्थ र राजनीतिक प्रतिस्पर्धाभन्दा माथि उठेर जनताको आवश्यकता र नगरको दीर्घकालीन विकासलाई केन्द्रमा राख्न आवश्यक छ ।

पारदर्शी प्रशासन, प्रभावकारी सेवा प्रवाह, महिला तथा युवाको सहभागिता, शिक्षा सुधार र स्वास्थ्य पहुँच विस्तार अहिलेको प्राथमिकता हुनुपर्ने डा. ठाकुरको धारणा छ ।

जनताले तिरेको करको सदुपयोग, योजनाको पारदर्शी कार्यान्वयन र जनप्रतिनिधिको जवाफदेहिता सुनिश्चित नभएसम्म सुशासनको अनुभूति हुन नसक्ने उनको भनाइ छ ।

स्थानीय तह लोकतन्त्रको सबैभन्दा नजिकको सरकार भएकाले जनविश्वास कायम राख्नु जनप्रतिनिधिहरूको मुख्य जिम्मेवारी हो । तर, जनअपेक्षाअनुसार काम हुन नसके जनआक्रोश अझ बढ्न सक्ने देखिएको छ ।

त्यसैले, जलेश्वरमा अहिलेको मुख्य आवश्यकता भनेको प्रभावकारी सुशासन, उत्तरदायी नेतृत्व र जनताको आवाजलाई सम्मान गर्ने राजनीतिक संस्कारको विकास रहेको उनी बताउँछन् ।