जलेश्वरमा विपद् प्रतिकार्य संयुक्त अभ्यास सम्पन्न

महोत्तरी, १३ जेठ । जिल्ला विपद् व्यवस्थापन समितिको आयोजनामा महोत्तरीको जलेश्वर नगरपालिका–१ स्थित शंकर चौक नजिक वरुण पोखरीमा विपद् प्रतिकार्य संयुक्त अभ्यास कार्यक्रम सम्पन्न भएको छ ।
बुधबार बिहान ०८:४५ बजेदेखि ०९:२५ बजेसम्म सञ्चालन भएको उक्त अभ्यास विपद् व्यवस्थापनको तयारी, समन्वय र तत्काल उद्धार क्षमताको परीक्षण गर्ने उद्देश्यले गरिएको हो ।
जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न सुरक्षा निकाय तथा सरोकारवाला संस्थाहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा विशेष अतिथिका रूपमा जलेश्वर नगरपालिकाका नगर प्रमुख सुरेश साह सोनारको उपस्थिति रहेको थियो ।
त्यसैगरी कार्यक्रममा नेपाली सेनाको गोरखनाथ गणका गणपति रामप्रसाद लामिछाने, सशस्त्र प्रहरी बल नेपाल नं. ९ गण हेडक्वार्टरका प्रमुख शेरबहादुर अधिकारी, जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख श्याम सारु मगर, नेपाल रेडक्रस सोसाइटी तथा प्रादेशिक अस्पताल जलेश्वरका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
अभ्यासमा विपद् अवस्थामा खोज, उद्धार, प्राथमिक उपचार तथा आपतकालीन व्यवस्थापनका विभिन्न चरणहरूको प्रदर्शन गरिएको थियो ।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, भद्रभलादमी, सञ्चारकर्मी लगायत करिब १५० जनाको उपस्थिति रहेको आयोजकले जनाएको छ ।
सुरक्षा निकायहरूको संयुक्त समन्वयमा सम्पन्न उक्त अभ्यासले विपद् प्रतिकार्य क्षमता अभिवृद्धि गर्ने विश्वास गरिएको छ ।










