मानव अधिकार संरक्षणमा शिक्षा र स्वास्थ्य सुधार अपरिहार्य: प्रदेश प्रमुख कर्ण

जनकपुरधाम, १३ जेठ । मधेश प्रदेशका प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णले मानव अधिकारको प्रभावकारी संरक्षणका लागि मानव अधिकारमैत्री बजेट, नीति निर्माण र त्यसको कार्यान्वयन आवश्यक रहेको बताएका छन् ।
राष्ट्रिय मानव अधिकार आयोगको २६औँ वार्षिकोत्सवको अवसरमा राष्ट्रिय मानव अधिकार आयोगको मधेश प्रदेश कार्यालयद्वारा जनकपुरधाममा आयोजित कार्यक्रममा बोल्दै प्रदेश प्रमुख कर्णले मानव अधिकार आर्थिक अधिकारसँग प्रत्यक्ष रूपमा जोडिएको उल्लेख गरे ।
उनले नागरिकका आधारभूत आवश्यकता पूरा नभएसम्म मानव अधिकारको अवस्था सुदृढ हुन नसक्ने धारणा राखे ।
उनले मधेश प्रदेशमा मानव अधिकारको अवस्था सुधार गर्न शिक्षा र स्वास्थ्य क्षेत्रमा विशेष सुधार आवश्यक रहेको बताए ।
‘मानव अधिकारको संरक्षण केवल कानुनी विषय मात्र नभई यो नागरिकको जीवनस्तरसँग पनि गाँसिएको विषय हो,’उनले भने ।
कार्यक्रममा धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइँटेलले सुशासनबिना मानव अधिकारको प्रत्याभूति सम्भव नहुने बताए ।
राज्य अहिले सुशासन स्थापनाका लागि विभिन्न प्रयासमा जुटिरहेको उनको भनाइ थियो ।
महिला मानव अधिकार रक्षक सञ्जाल धनुषाकी अध्यक्ष रेखा झाले मधेशका जिल्लामा महिलामाथि हुने हिंसाका घटना अझै चिन्ताजनक रहेको बताइन् ।
उनले पीडकलाई कानुनी कारबाही र पीडितलाई न्याय सुनिश्चित भए मात्र मानव अधिकारको वास्तविक संरक्षण हुने उल्लेख गरिन् ।
त्यसैगरी, एडभोकेसी फोरम मधेश प्रदेशका संयोजक अधिवक्ता राज कुमार महासेठले मानव अधिकार उल्लङ्घनका घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाही गर्न राज्य गम्भीर हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग मधेश प्रदेश कार्यालयका प्रमुख बुद्धनारायण साहनीले प्रदेश कार्यालयमा हालसम्म ४३२ वटा उजुरी दर्ता भएको जानकारी दिए ।
तीमध्ये ७१ वटा उजुरीमा कारबाही प्रक्रिया पूरा गरी फाइल आयोगको केन्द्रीय कार्यालयमा पठाइएको उनले बताए ।


