काठमाडौँ, १३ जेठ । राष्ट्रिय मानवअधिकार आयोगले जेनजी आन्दोलनका क्रममा भीडलाई उत्तेजित बनाउने अभिव्यक्ति दिएको आरोपमा केपी खनाल र ज्वाला सङ्ग्रौलासहित केही सामाजिक अभियन्तामाथि थप अनुसन्धान गर्न सरकारलाई सिफारिस गरेको छ ।

आयोगले सार्वजनिक गरेको अनुसन्धान प्रतिवेदनअनुसार २०८२ भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा हिंसा भड्किनु र प्रदर्शन उग्र बन्नुमा सामाजिक सञ्जालमार्फत गरिएका उत्तेजक अभिव्यक्तिहरूको पनि भूमिका रहेको निष्कर्ष निकालिएको छ ।

प्रतिवेदनको बुँदा नम्बर ३० तथा सिफारिस खण्डको बुँदा नम्बर १० मा केपी खनाल, ज्वाला सङ्ग्रौला, पुण्य गौतम र मुकुन्द उप्रेतीलगायत व्यक्तिहरूले आन्दोलनअघि, आन्दोलनकै समयमा तथा त्यसपछि सामाजिक सञ्जालमा दिएका अभिव्यक्तिले प्रदर्शनकारीलाई आक्रोशित र उत्तेजित बनाउन सहयोग पुगेको उल्लेख गरिएको छ ।

आयोगले ती अभिव्यक्तिको प्रभावका कारण आन्दोलन हिंसात्मक बन्न पुगेको हो वा होइन भन्ने विषयमा विस्तृत अनुसन्धान आवश्यक रहेको जनाएको छ ।

प्रतिवेदनमा उनीहरूको प्रत्यक्ष वा अप्रत्यक्ष संलग्नता रहे/नरहेकोबारे कानुनी तथा तथ्यगत छानबिन गर्न सरकारलाई सुझाव दिइएको छ ।

आयोगले आन्दोलनका क्रममा भएको मानवीय तथा भौतिक क्षतिको घटनालाई गम्भीर रूपमा लिनुपर्ने उल्लेख गर्दै अभिव्यक्ति स्वतन्त्रताको नाममा हिंसा भड्काउने गतिविधिलाई प्रोत्साहन गर्न नहुने पनि औंल्याएको छ ।