जनकपुरधाम, १३ जेठ । धनुषाको बटेश्वर गाउँपालिकाले कार्यालय तथा विद्यालय सञ्चालन समय पुनः साविकअनुसार लागू गर्ने निर्णय गरेको छ ।

गाउँकार्यपालिकाको जेठ १२ गते बसेको बैठकको निर्णयअनुसार गाउँपालिकाअन्तर्गतका सबै शाखा, उपशाखा, स्वास्थ्य संस्था, वडा कार्यालय तथा विद्यालयहरू जेठ १७ गतेदेखि अर्को निर्णय नभएसम्म पुरानै समयतालिकाअनुसार सञ्चालन हुने जनाइएको छ ।

गाउँपालिकाद्वारा जारी सूचनाअनुसार आइतबारदेखि बिहीबारसम्म बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म तथा शुक्रबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म सेवा प्रवाह गरिनेछ ।

गाउँपालिका अध्यक्ष राम अशिष महतोले सेवाग्राहीलाई सहज र व्यवस्थित सेवा प्रदान गर्ने उद्देश्यले उक्त निर्णय गरिएको बताएका छन् ।