सर्लाही, १३ जेठ । मधेश प्रदेश सभामा योजनासम्बन्धी अनियमितताको विषय उठाएकी जनमत पार्टीकी प्रदेशसभा सदस्य हसिना खातूनमाथि आक्रमण प्रयास भएको भन्दै घटनाको चौतर्फी विरोध भएको छ ।

सांसद खातूनले प्रदेश सभाको बैठकमा योजना कार्यान्वयन नगरी भुक्तानी गरिएको विषय सार्वजनिक रूपमा उठाएकी थिइन् । त्यसपछि सर्लाहीस्थित उनको निवास घेराउ गरी केही व्यक्तिले आक्रमणको प्रयास गरेको जनाइएको छ ।

घटनापछि राजनीतिक तथा नागरिक तहबाट सांसदमाथि भएको भनिएको आक्रमण प्रयासको निन्दा गरिएको छ ।

लोकतान्त्रिक व्यवस्थामा जनप्रतिनिधिले उठाएको विषयलाई लिएर धम्की र दबाब दिन खोज्नु गम्भीर विषय भएको भन्दै दोषीमाथि तत्काल कारबाही गर्न माग गरिएको छ ।

जनमत पार्टीका नेताहरूले पनि घटनाको निष्पक्ष छानबिन गर्नुपर्ने बताएका छन् ।

योजनाको काम नगरी रकम भुक्तानी गरिएको आरोपबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्नुपर्ने मागसमेत उठाइएको छ ।

घटनाबारे स्थानीय प्रशासन र प्रहरीलाई समेत जानकारी गराइएको जनाइएको छ । प्रहरीले घटनाको विषयमा आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ ।