जनकपुरधाम, १३ जेठ । मधेश प्रदेशका नवनियुक्त अर्थमन्त्री युवराज भट्टराईले पदभार ग्रहण गरेका छन् ।

पदभार ग्रहणसँगै उनले प्रदेश सरकारको आर्थिक गतिविधिलाई थप पारदर्शी बनाउने उद्देश्यसहित खर्च, आम्दानी तथा सञ्चित कोषको विवरण साप्ताहिक रूपमा सार्वजनिक गर्ने निर्णय गरेका छन् ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका नेता समेत रहेका भट्टराईलाई मंगलबार मुख्यमन्त्रीको सिफारिसमा अर्थमन्त्री नियुक्त गरिएको थियो ।

नियुक्तिपछि उनले प्रदेश प्रमुखसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए ।

बुधबार मन्त्रालय पुगेर औपचारिक रूपमा पदभार सम्हाल्दै मन्त्री भट्टराईले प्रदेश सरकारको आर्थिक अवस्था र बजेट कार्यान्वयनबारे नागरिकलाई नियमित जानकारी उपलब्ध गराइने बताए ।

उनले सरकारको खर्च तथा राजस्व संकलनसम्बन्धी विवरण प्रत्येक साता मन्त्रालयको वेबसाइट तथा सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिने निर्णय गरेका हुन् ।

उनका अनुसार यस कदमले आर्थिक पारदर्शिता बढाउनुका साथै सरकारप्रति नागरिकको विश्वास मजबुत बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ ।

मन्त्री भट्टराईले वित्तीय अनुशासन, मितव्ययिता र परिणाममुखी बजेट कार्यान्वयनलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।