महोत्तरी, १३ जेठ । महोत्तरीको जलेश्वर नगरपालिका–१२ थरुवाही गाउँका १२ वर्षीय बालक गौतम यादव विगत सात दिनदेखि बेपत्ता भएका छन् ।

विद्यालय जान घरबाट निस्किएका गौतम हालसम्म सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको हो ।

परिवारका अनुसार गौतम जेठ ७ गते बिहान करिब ६ बजे घरबाट जलेश्वर नगरपालिका–२ स्थित एड्भान्स लर्नर्स हिमालयन अङ्ग्रेजी बोर्डिङ स्कुलका लागि निस्किएका थिए । तर, विद्यालय समय सकिएपछि पनि उनी घर नफर्केपछि परिवारले खोजी सुरु गरेको थियो ।

पछि परिवारजन विद्यालय पुगेपछि विद्यालय प्रशासनले गौतम उक्त दिन विद्यालयमै उपस्थित नभएको जानकारी दिएको थियो । त्यसपछि आफन्त र स्थानीयवासीको सहयोगमा विभिन्न स्थानमा खोजी गर्दा पनि उनको कुनै अत्तोपत्तो लाग्न सकेको छैन ।

बेपत्ता बालक गौतम थरुवाही गाउँ निवासी आशुतोष यादव र पुनमाया यादवका छोरा हुन् । छोरा हराएपछि आत्तिएका बुवाआमाले उनी अपहरणमा परेको वा मानव बेचबिखनमा पारिएको हुनसक्ने आशङ्का व्यक्त गरेका छन् ।

परिवारले जिल्ला प्रहरी कार्यालय महोत्तरीमा निवेदन दर्ता गराएर खोजी कार्य तीव्र बनाउन आग्रह गरेको छ । प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरिएको जनाएको छ ।