जनकपुरधाम, १३ जेठ । जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले सवारी दुर्घटना न्यूनीकरण तथा सवारी साधनको सहज पहिचान गर्ने उद्देश्यले सञ्चालन गरेको ‘नम्बर प्लेट मापदण्ड कार्यान्वयन अभियान’ अन्तर्गत ५ हजारभन्दा बढी सवारी साधन चेकजाँच गरेको जनाएको छ ।

अभियानका क्रममा मेटिएका, अस्पष्ट, तोकिएको मापदण्ड विपरीत राखिएका तथा नम्बर प्लेट नभएका सवारी साधनलाई रोक्दै सुधार गर्न लगाइएको ट्राफिक प्रहरीले जनाएको हो ।

कार्यालयले सार्वजनिक गरेको प्रगति विवरणअनुसार विभिन्न सात चरणमा सञ्चालन गरिएको विशेष चेकजाँच अभियानमा ५ हजार ५६ वटा सवारी साधन जाँच गरिएको थियो ।

तीमध्ये ४ हजार २०८ वटा सवारी साधनको नम्बर प्लेट मापदण्डअनुसार रहेको पाइए पनि ५४९ वटा सवारी साधनमा समस्या देखिएको थियो ।

ट्राफिक प्रहरीले तीमध्ये ४२३ वटा सवारी साधनलाई तत्काल सुधार गर्न लगाएको जनाएको छ । बाँकी केही सवारीलाई कारबाही गर्दै ८ हजार ५ सय रुपैयाँ राजश्वसमेत संकलन गरिएको कार्यालयले जनाएको छ ।

अभियानमा मोटरसाइकल, ट्याक्टर, टिपर, माइक्रोबस, अटो तथा ई–रिक्साजस्ता सवारी साधनलाई प्राथमिकतामा राखेर चेकजाँच गरिएको थियो ।

विशेषगरी नम्बर प्लेट मेटिएका, सानो अक्षर प्रयोग गरिएका, स्टाइलिस नम्बर प्लेट राखिएका तथा पढ्न नसकिने अवस्थामा रहेका सवारीलाई सुधार गर्न लगाइएको ट्राफिक प्रहरीले जनाएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी निरीक्षक सूर्यबहादुर शाहीले सवारी साधनको स्पष्ट नम्बर प्लेट हुनु सुरक्षा र कानुनी दुवै हिसाबले अत्यन्त आवश्यक रहेको बताए ।

उनले दुर्घटना, अपराध अनुसन्धान तथा सवारीको पहिचानमा नम्बर प्लेटको महत्वपूर्ण भूमिका हुने भएकाले अभियानलाई निरन्तरता दिइएको जानकारी दिए ।

प्रहरी निरीक्षक शाहीका अनुसार पछिल्लो समय धेरै सवारी साधनमा नियमविपरीत डिजाइन गरिएको नम्बर प्लेट राख्ने प्रवृत्ति बढेकाले ट्राफिक व्यवस्थापनमा समस्या भइरहेको छ ।

‘कुनै दुर्घटना वा आपराधिक घटनामा संलग्न सवारीको पहिचान गर्न नम्बर प्लेट स्पष्ट हुन जरुरी हुन्छ,’ उनले भने, ‘त्यसैले नागरिकलाई सजायभन्दा पनि सचेत बनाउने उद्देश्यले सुधारमुखी अभियान चलाइएको हो ।’

उनले धेरैजसो सवारी चालकले ट्राफिक प्रहरीको आग्रहपछि नम्बर प्लेट तत्काल सच्याएको बताए ।

केही सवारी चालकले जानाजान नियम उल्लंघन गरेको पाइएकाले कारबाही गरिएको उनको भनाइ छ ।

ट्राफिक प्रहरीले सार्वजनिक सवारी मात्र नभई निजी सवारी साधनमा पनि मापदण्डविपरीत नम्बर प्लेट प्रयोग भइरहेको जनाएको छ ।

विशेषगरी मोटरसाइकलमा स्टिकर शैलीका नम्बर, रंग मेटिएका प्लेट तथा अंग्रेजी अक्षर अस्पष्ट बनाइएका नम्बर बढी भेटिएको प्रहरीको दाबी छ ।

प्रहरी निरीक्षक शाहीले आगामी दिनमा पनि धनुषाका विभिन्न स्थानमा नियमित तथा आकस्मिक चेकजाँचलाई निरन्तरता दिइने बताए ।

‘सवारी साधनको नम्बर प्लेट स्पष्ट राख्नु कानुनी दायित्व मात्र नभई सार्वजनिक सुरक्षासँग पनि जोडिएको विषय हो,’ उनले भने, ‘सबै सवारी चालकलाई तोकिएको मापदण्डअनुसार नम्बर प्लेट राख्न अनुरोध गर्छौं ।’

ट्राफिक प्रहरीले चालक तथा सवारीधनीलाई नम्बर प्लेटमा अनावश्यक स्टिकर, डिजाइन वा रंग प्रयोग नगर्न, पढ्न सकिने स्पष्ट अक्षर राख्न तथा सरकारी मापदण्डअनुसारकै आकार प्रयोग गर्न आग्रह गरेको छ ।

अभियानलाई अझ प्रभावकारी बनाउन स्थानीय तह, यातायात व्यवसायी र सर्वसाधारणसँग सहकार्य गरिने कार्यालयले जनाएको छ ।