जनकपुरधाम, १२ जेठ । नेपाली कांग्रेस मधेश प्रदेश संसदीय दलका प्रमुख सचेतक कुमारकान्त झाले पदबाट राजीनामा दिएका छन् ।

झाले मंगलबारदेखि लागू हुने गरी प्रमुख सचेतक पदबाट राजीनामा दिएको जानकारी दिएका हुन् ।

उनले सामाजिक सञ्जालमार्फत छोटो वक्तव्य जारी गर्दै “’आज मिति २०८३ जेठ १२ गतेदेखि नेपाली कांग्रेस मधेश प्रदेशको संसदीय दलको प्रमुख सचेतकबाट राजीनामा गर्दैछु’ उल्लेख गरेका छन् ।

उनको राजीनामाको कारण भने सार्वजनिक गरिएको छैन । कांग्रेसभित्र पछिल्लो समय प्रदेशस्तरमा देखिएको आन्तरिक राजनीतिक समीकरण र जिम्मेवारी हेरफेरको चर्चाबीच झाको राजीनामालाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

झा मधेश प्रदेशसभामा नेपाली कांग्रेसका सक्रिय नेताका रूपमा चिनिन्छन् ।

उनले प्रमुख सचेतकको जिम्मेवारी सम्हाल्दै संसदीय गतिविधि व्यवस्थापन तथा दलभित्र समन्वयको भूमिका निर्वाह गर्दै आएका थिए ।