जनकपुरधाम, १२ जेठ । मधेश प्रदेश सरकारमा मन्त्रिपरिषद् विस्तार गरिएको छ ।

मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णले विभिन्न मन्त्रालयमा ५ जना मन्त्री नियुक्त गरेका हुन् ।

नवनियुक्त मन्त्रीमध्ये नेकपाबाट युवराज भट्टराईलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ भने एमालेबाट मोहम्मद समिर भौतिक पूर्वाधार विकास मन्त्री बनेका छन् ।

त्यस्तै, श्रम तथा यातायात मन्त्रालयमा शारदादेवी थापा, युवा तथा समाज कल्याण मन्त्रालयमा लखनदास तथा शिक्षा तथा संस्कृति मन्त्रालयमा मनोज सिंह नियुक्त भएका छन् ।

यस्तै, नेपाली कांग्रेसबाट नागेन्द्र साह स्वास्थ्य मन्त्री नियुक्त भएका छन् । यसअघि उक्त मन्त्रालयको जिम्मेवारीमा रहेका जंगीलाल रायलाई पदमुक्त गरिएको छ ।

प्रदेश प्रमुख कार्यालयमा आयोजित कार्यक्रममा नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

मन्त्रिपरिषद् विस्तारसँगै मधेश सरकारभित्र राजनीतिक सन्तुलन मिलाउने प्रयास भएको विश्लेषण गरिएको छ ।