जनकपुरधाम, १२ जेठ । मधेश आन्दोलनका शहिद परिवार तथा घाइतेहरूले आफ्ना मागहरू लामो समयदेखि सम्बोधन नभएको भन्दै मधेश प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाएका छन् ।

उनीहरूले माग पूरा नभए जेठ १९ गतेदेखि कडा आन्दोलनमा उत्रिने चेतावनीसमेत दिएका छन् ।

मधेशी शहिद एवं घाइते हकहित संघर्ष समितिले प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णलाई बुझाएको ज्ञापनपत्रमा मधेश आन्दोलनका क्रममा ज्यान गुमाएका शहिद परिवार र घाइतेहरूको अवस्था अझै दयनीय रहेको उल्लेख गरिएको छ ।

समितिका अध्यक्ष अवधेश प्रसादले आन्दोलन र बलिदानको उपलब्धिस्वरूप स्थापना भएको प्रदेश सरकारले पटक पटक आग्रह गर्दा पनि आफ्ना मागप्रति बेवास्ता गरेको आरोप लगाए ।

ज्ञापनपत्रमा शहिद परिवार तथा घाइतेहरूको सम्मान, रोजगारी, शिक्षा, स्वास्थ्य र आर्थिक सहुलियतसँग सम्बन्धित विभिन्न मागहरू समावेश गरिएको छ ।

समितिले प्रत्येक शहिद परिवार तथा घाइतेका परिवारबाट एक जनालाई रोजगारीको व्यवस्था गर्नुपर्ने, मधेश आन्दोलनका शहिद तथा घाइतेका लागि स्वास्थ्य बिमा र शिक्षामा छात्रवृत्तिको व्यवस्था गर्नुपर्ने माग अघि सारेको छ ।

साथै, ‘मधेशी शहिद तथा घाइते प्रतिष्ठान’ लाई स्वायत्त संस्था घोषणा गर्नुपर्ने, परिचयपत्र उपलब्ध गराउनुपर्ने तथा बैंक तथा वित्तीय संस्थाबाट सहुलियतपूर्ण ऋणको व्यवस्था गर्नुपर्ने माग पनि गरिएको छ ।

ज्ञापनपत्रमा विगतका आन्दोलनका घाइते तथा संघर्षमा सहभागीहरूको योगदानलाई राज्यले अझैसम्म उचित मूल्यांकन नगरेको गुनासो गरिएको छ ।

आन्दोलनकारीहरूले सरकारसँग तत्काल वार्ता गरी माग सम्बोधन गर्न आग्रह गरेका छन् ।