बिदाको दिन सरकारी गाडी चलाए नियन्त्रणमा लिन निर्देशन

जनकपुरधाम, १२ जेठ । जिल्ला प्रशासन कार्यालय धनुषाले सरकारी नम्बर प्लेटका सवारी साधनको दुरुपयोग रोक्न कडाइ सुरु गरेको छ ।
प्रशासनले ट्राफिक प्रहरीलाई बिदाको दिन तथा कार्यालय समयबाहेक अनधिकृत रूपमा सञ्चालन गरिएका सरकारी गाडी जहाँ भेटिए पनि नियन्त्रणमा लिन निर्देशन दिएको हो ।
सरकारी सवारी साधन निजी प्रयोजनमा प्रयोग भइरहेको भन्दै सर्वसाधारणबाट लगातार गुनासो आउन थालेपछि प्रशासनले निगरानी बढाएको जनाएको छ ।
कार्यालय प्रयोजनबाहेक सरकारी गाडी प्रयोग गर्ने प्रवृत्ति नियन्त्रण गर्न यस्तो कदम चालिएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइँटेलले जानकारी दिए ।
निर्देशनअनुसार अब बिदाको दिन वा अनुमति बिना सञ्चालनमा रहेका सरकारी नम्बर प्लेटका सवारी साधन भेटिए आवश्यक छानबिन गरी कारबाही प्रक्रिया अघि बढाइनेछ ।
ट्राफिक प्रहरीलाई यस्ता गाडीमाथि विशेष निगरानी राख्नसमेत भनिएको छ ।
प्रशासनले सरकारी सम्पत्तिको दुरुपयोग नगर्न सम्बन्धित कार्यालय तथा चालकहरूलाई सचेत गराउँदै नियम उल्लंघन गरे कानुनी कारबाही हुने चेतावनी दिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


