सर्लाहीमा भरुवा बन्दुकसहित एक पक्राउ, तीन जना फरार

सर्लाही, १२ जेठ । सर्लाहीको बरहथवा नगरपालिकाबाट प्रहरीले भरुवा बन्दुक तथा त्यसमा प्रयोग हुने सामग्रीसहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बागमती नगरपालिका–२ सुकुमवासी टोल निवासी ३८ वर्षीय बुद्धीमान घलान रहेका छन् ।
इलाका प्रहरी कार्यालय बरहथवा र इलाका प्रहरी कार्यालय हिरापुरबाट खटिएको संयुक्त प्रहरी टोलीले सोमबार बरहथवा नगरपालिका–१२ लौकट टोल क्षेत्रमा गोप्य सूचनाका आधारमा खोजतलास अभियान सञ्चालन गरेको थियो ।
प्रहरीले केही व्यक्तिहरू अवैध भरुवा बन्दुक बोकेर हिँडडुल गरिरहेको सूचना पाएपछि विशेष निगरानी बढाएको जनाएको छ ।
खोजतलासका क्रममा चार जनाको समूहमा रहेका व्यक्तिहरूले प्रहरी टोलीलाई देख्नेबित्तिकै भाग्ने प्रयास गरेका थिए ।
सो क्रममा प्रहरीले बुद्धीमान घलानलाई नियन्त्रणमा लिन सफल भएको भए पनि अन्य तीन जना भने फरार भएका छन् ।
प्रहरीले पक्राउ परेका घलानको शरीर तथा साथमा रहेको झोला खानतलासी गर्दा एक थान भरुवा बन्दुक, बन्दुकमा प्रयोग हुने फलामको रड, १७५ ग्राम बारुद, ८० थान फलामको गोली तथा फलामका रडका पाँच टुक्रा बरामद गरेको जनाएको छ ।
घलानविरुद्ध हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी सर्लाही जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिई अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
फरार रहेका अन्य व्यक्तिहरूको खोजी कार्य जारी रहेको तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


