शासकीय सुधार संवादमा जनमुखी सेवा र सुशासनको प्रतिबद्धता

सिरहा, १२ जेठ । सार्वजनिक सेवा प्रवाहलाई छिटो, प्रभावकारी तथा नागरिकमैत्री बनाउने उद्देश्यले सिरहामा ‘शासकीय सुधार संवाद श्रृङ्खला–१०’ कार्यक्रम सम्पन्न गरिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आयोजनामा सिरहा नगरपालिका–७ स्थित जिल्ला समन्वय समितिको सभाहलमा आयोजित कार्यक्रममा जिल्लाका विभिन्न सरकारी कार्यालयका प्रमुख, सुरक्षा निकायका प्रतिनिधि तथा प्रशासनिक अधिकारीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव डा. भिष्म कुमार भुसालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालसहित करिब ७५ जनाको सहभागिता रहेको जनाइएको छ ।
कार्यक्रममा सुशासन प्रवर्द्धन, सार्वजनिक सेवा प्रवाहमा पारदर्शिता, कार्यालयहरूबीच समन्वय तथा प्रशासनिक सुधारका विषयमा केन्द्रित भएर छलफल गरिएको थियो ।
सहभागीहरूले नागरिकलाई सहज, गुणस्तरीय र विश्वासिलो सेवा उपलब्ध गराउन सरकारी संयन्त्र थप जिम्मेवार र उत्तरदायी बन्नुपर्नेमा जोड दिएका थिए ।
संवाद श्रृङ्खलामार्फत सरकारी निकायलाई परिणाममुखी बनाउँदै नागरिकको राज्यप्रतिको विश्वास अभिवृद्धि गर्ने लक्ष्य राखिएको आयोजकले जनाएको छ ।



तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


