जनकपुरधाम, १२ जेठ । महोत्तरीको बर्दिबासमा अव्यवस्थित बस्ती हटाउन सूचना दिन पुगेको सरकारी टोलीमाथि स्थानीयले विरोध जनाउँदै वन कार्यालयको गाडीमा आगजनी गरेका छन् ।

घटनापछि स्थानीयले बीपी राजमार्ग अवरुद्ध गर्दै प्रदर्शनसमेत गरेका छन् ।

बर्दिबास नगरपालिका–३ स्थित क्षेत्रमा अव्यवस्थित बसोबास खाली गराउन सूचना दिन सोमबार दिउँसो प्रहरीसहित डिभिजन वन कार्यालय महोत्तरीको टोली पुगेको थियो ।

सो क्रममा स्थानीयले टोलीलाई घेराबन्दीमा पारेका थिए । घेराबन्दीकै बीच सोमबार राति वन कार्यालयको सरकारी गाडीमा आगजनी गरिएको प्रहरीले जनाएको छ ।

स्थिति तनावग्रस्त बनेपछि स्थानीयले रातिदेखि नै बीपी राजमार्गमा रुख ढालेर सडक अवरुद्ध गरेका थिए ।

राजमार्ग खुलाउन तथा वार्ताका लागि पुगेका सुरक्षाकर्मी र प्रदर्शनकारीबीच झडपसमेत भएको बताइएको छ ।

मंगलबार बिहानदेखि पनि स्थानीयले विरोध प्रदर्शन जारी राखेका छन् । उनीहरूले पुनः रुख ढालेर राजमार्ग अवरुद्ध गरेका कारण पूर्वपश्चिम आवागमन प्रभावित बनेको छ ।

घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको अतिरिक्त टोली परिचालन गरिएको छ ।

स्थानीयले आफूहरूलाई वैकल्पिक व्यवस्था नगरी जबर्जस्ती हटाउन खोजिएको आरोप लगाउँदै आन्दोलनमा उत्रिएको बताएका छन् ।

प्रहरीले भने स्थिति नियन्त्रणमा लिन प्रयास भइरहेको जनाएको छ ।