जनकपुरधाम, १२ जेठ । सवारी दुर्घटना न्यूनीकरण तथा आपराधिक गतिविधिमा संलग्न सवारी साधनको सहज पहिचान गर्ने उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले नम्बर प्लेट दुरुस्त पार्ने विशेष अभियान सञ्चालन गरेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय जिरोमाइल धनुषाले जिल्लाको विभिन्न स्थानमा विशेष चेकजाँच अभियान सञ्चालन गर्दै नम्बर प्लेट नभएका, मेटिएका तथा स्पष्ट नदेखिने सवारी साधनलाई नियन्त्रणमा लिएर नम्बर प्लेट दुरुस्त बनाउन लगाएको जनाएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी निरीक्षक सूर्यबहादुर शाहीले स्पष्ट नम्बर प्लेटले दुर्घटना तथा आपराधिक घटनामा संलग्न सवारी साधनको पहिचान गर्न सहज हुने भएकाले अभियानलाई प्रभावकारी रूपमा अघि बढाइएको बताए ।

उनका अनुसार कतिपय सवारी साधनमा नम्बर प्लेट मेटिएको, ढाकिएको वा अस्पष्ट हुँदा दुर्घटना तथा विभिन्न घटनाको अनुसन्धानमा समस्या हुने गरेको छ ।

त्यसैले ट्राफिक नियमको कार्यान्वयनलाई प्रभावकारी बनाउन अभियानलाई निरन्तरता दिइने उनले जानकारी दिए ।

प्रहरी निरीक्षक शाहीले सम्पूर्ण सवारी धनी तथा चालकलाई अनिवार्य रूपमा स्पष्ट नम्बर प्लेट राख्न, ट्राफिक नियमको पालना गर्न तथा सुरक्षित यात्रामा सहयोग पुर्‍याउन आग्रह गरेका छन् ।