जनकपुरधाम, ११ जेठ । जनकपुर–जयनगर रेलमार्गमा सोमबार साँझ भएको दुर्घटनामा एक महिलाको ज्यान गएको छ ।

धनुषा जिल्लाको विदेह नगरपालिका–९ बैदेही स्टेसनबाट करिब ६ सय मिटर पूर्व रेलले किच्दा अन्दाजी ३० वर्षीया महिलाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोमबार साँझ ५:३२ बजे जयनगरबाट जनकपुरतर्फ आउँदै गरेको रेलले ती महिलालाई किचेको हो ।

टाउकोमा गम्भीर चोट लागेपछि उनको तत्कालै मृत्यु भएको धनुषा प्रहरीका प्रवक्ता डीएसपी मधुसुधन न्यौपानेले जानकारी दिए ।

घटनापछि इलाका प्रहरी कार्यालयको टोली घटनास्थलमा पुगेर मुचुल्का तयार पारेको छ ।

मृतक महिलाको पहिचान भने अहिलेसम्म खुल्न सकेको छैन ।

शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा पठाइएको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।