जनकपुरधाम, ११ जेठ । मधेश प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री कनिष पटेलले व्यवसायी र उपभोक्ता दुवै पक्षले एकअर्काको मानव अधिकारको सम्मान र संरक्षण गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले आयोजना गरेको ‘व्यवसाय र मानव अधिकार’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री पटेलले व्यवसाय सञ्चालनमा हुने व्यवहार र उपभोक्ता अधिकार दुवै मानव अधिकारसँग प्रत्यक्ष रूपमा जोडिएको बताए ।

उनका अनुसार उपभोक्ताले व्यवसायीसँग अनुचित व्यवहार गर्ने वा व्यवसायीले उपभोक्ताको अधिकार उल्लंघन गर्ने अवस्था दुवै मानव अधिकार हननकै रूप हो । साथै उनले अनधिकृत र अधिकृत व्यवसायीबीच हुने द्वन्द्वले पनि मानव अधिकार उल्लंघन निम्त्याउने उल्लेख गरे ।

मन्त्री पटेलले उद्योग वाणिज्य संघहरूले एकताको नाममा अनधिकृत व्यवसायीलाई संरक्षण गर्न नहुने धारणा राखे ।

कार्यक्रममा उनले मधेश प्रदेश सरकारले छिट्टै उद्योग दर्ता तथा नवीकरणका लागि अनलाइन प्रणाली (सफ्टवेयर) विकास गर्ने तयारी भइरहेको जानकारी पनि दिए । साथै उत्कृष्ट करदाता व्यवसायीलाई प्रोत्साहनस्वरूप नगदसहित पुरस्कृत गर्ने योजना रहेको उनको भनाइ थियो ।

सोही कार्यक्रममा जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीले जनकपुरधामको व्यापार व्यवसाय निरन्तर ओरालो लागिरहेको भन्दै चिन्ता व्यक्त गरे ।

उनले व्यवसायीहरू कठिन अवस्थामा रहेको भन्दै सरकारले आवश्यक सुविधा र सहजीकरण नगरेको गुनासो गरे ।

कार्यक्रममा उद्योगी व्यवसायी, मानव अधिकारकर्मी, नागरिक समाजका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।