जनकपुरधाम, ११ जेठ । धनुषाको दक्षिणी क्षेत्रमा रहेको धनौजी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकुमार दास लामो समयदेखि कार्यालयमा नियमित उपस्थित नभएको भन्दै स्थानीयवासी तथा सेवाग्राहीहरूले असन्तुष्टि व्यक्त गरेका छन् ।

स्थानीयका अनुसार अधिकृत दास करिब एक महिनादेखि गाउँपालिकाको कार्यालयमा देखिएका छैनन् ।

कार्यालय प्रमुख नियमित रूपमा उपस्थित नभएपछि दैनिक प्रशासनिक कामकाजदेखि विकास निर्माणसम्बन्धी प्रक्रियासमेत प्रभावित भएको गुनासो सेवाग्राहीहरूको छ ।

स्थानीय दरबेश मण्डलले प्रमुख प्रशासकीय अधिकृत लामो समयदेखि कार्यालय नआउँदा नागरिकले सामान्य प्रशासनिक सेवा लिनसमेत सास्ती खेप्नुपरेको बताए ।

उनका अनुसार चालु आर्थिक वर्ष २०८२/०८३ समाप्त हुन अब डेढ महिना मात्रै बाँकी रहेकाले बजेट कार्यान्वयन, योजनाको भुक्तानी तथा अन्य प्रशासनिक निर्णयहरू प्रभावित भइरहेका छन् ।

गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको अनुपस्थितिले विकास निर्माणका काम सुस्ताएको तथा सेवाप्रवाह कमजोर बनेको स्थानीयहरूको आरोप छ ।

उनीहरूले कार्यालय प्रमुख नियमित रूपमा उपस्थित नभए स्थानीय तहको समग्र कामकारबाही नै प्रभावित हुने बताएका छन् ।

यता, प्रमुख प्रशासकीय अधिकृत दासले भने आफू सम्पर्कविहीन नभएको दाबी गरेका छन् ।

उनले अस्वस्थ्य भएका कारण उपचारका लागि काठमाडौं जानुपरेको र सोही विषयलाई लिएर अनावश्यक रूपमा कुप्रचार गरिएको बताए ।

‘म बिरामी भएर उपचारका लागि काठमाडौं गएको हुँ । बीच बीचमा कार्यालय पनि आइरहेको छु,’दासले भने ।