जनकपुरधाम, ११ जेठ । जनकपुरधाम उपमहानगरपालिकाले महिला सशक्तिकरण तथा छात्रामैत्री शैक्षिक वातावरण निर्माणका लागि महत्वपूर्ण र उदाहरणीय निर्णय गरेको छ ।

उपमहानगरपालिका–११ स्थित सकल भवन कन्या माध्यमिक विद्यालयलाई पूर्ण रूपमा महिला विद्यालयको स्वरूप दिने निर्णयसँगै शिक्षा क्षेत्रमा नयाँ बहस र सकारात्मक सन्देश प्रवाह भएको छ ।

उपमहानगरपालिकाको शिक्षा समितिबाट पारित उक्त निर्णयमा नगरप्रमुख मनोज साहको विशेष सक्रियता रहेको बताइएको छ ।

यसअघि विद्यालयमा छात्रीहरूको मात्र भर्ना हुने व्यवस्था भए पनि शिक्षक तथा कर्मचारी संरचनामा पुरुषको संख्या उल्लेख्य रहेकाले विद्यालयलाई पूर्ण रूपमा महिलामैत्री वातावरणमा सञ्चालन गर्न कठिनाइ भइरहेको स्थानीय अभिभावक तथा शिक्षासँग सरोकार राख्ने व्यक्तिहरूले बताउँदै आएका थिए ।

यसै अवस्थालाई मध्यनजर गर्दै उपमहानगरपालिकाले हालै सामुदायिक विद्यालयहरूमा विद्यार्थी संख्याको आधारमा दरबन्दी मिलान प्रक्रिया अघि बढाएको थियो ।

सोही प्रक्रियाअन्तर्गत अन्य विद्यालयमा कार्यरत महिला शिक्षकहरूलाई सकल भवन कन्या माध्यमिक विद्यालयमा पदस्थापन गरिएको छ भने यहाँ कार्यरत पुरुष शिक्षक तथा कर्मचारीलाई अन्य विद्यालयमा सरुवा गरिएको जनाइएको छ ।

उपमहानगरपालिकाका एक अधिकारीका अनुसार विद्यालयलाई नाममात्रको कन्या विद्यालय नभई व्यवहारिक रूपमा पनि पूर्ण महिला विद्यालयको रूपमा विकास गर्ने लक्ष्यका साथ यो निर्णय गरिएको हो ।

उनका अनुसार विद्यालयमा अध्ययनरत छात्रीहरूलाई सुरक्षित, सहज र आत्मविश्वासपूर्ण वातावरण प्रदान गर्न महिला शिक्षक तथा कर्मचारीको उपस्थिति महत्वपूर्ण हुने ठहर गर्दै यस्तो कदम चालिएको हो ।

विद्यालयका वर्तमान प्रधानाध्यापक यसै भदौ महिनामा अवकाश प्राप्त गर्ने तयारीमा रहेकाले तत्काल उनको सरुवा नगरिएको जानकारी दिइएको छ ।

तर, अवकाशपछि विद्यालयमा महिला प्रधानाध्यापक नियुक्त गरिने उपमहानगरपालिकाको तयारी रहेको छ । त्यसपछि विद्यालय पूर्ण रूपमा महिला नेतृत्व, महिला शिक्षक तथा महिला कर्मचारीद्वारा सञ्चालन हुने विश्वास गरिएको छ ।

यस निर्णयलाई शिक्षाविद्, अभिभावक तथा स्थानीयवासीहरूले अत्यन्त सकारात्मक रूपमा लिएका छन् ।

उनीहरूका अनुसार किशोरी छात्राहरूको मनोविज्ञान, सुरक्षा र आत्मीय वातावरणलाई ध्यानमा राख्दा यस्तो विद्यालयको आवश्यकता लामो समयदेखि महसुस हुँदै आएको थियो ।

अब महिला शिक्षकहरूको नेतृत्वमा विद्यालय सञ्चालन हुँदा छात्रीहरू थप खुला रूपमा आफ्ना समस्या राख्न सक्ने, सिकाइमा आत्मविश्वास बढ्ने तथा विद्यालयमा अनुशासन र सहभागिता समेत मजबुत हुने विश्वास गरिएको छ ।

स्थानीय अभिभावक र सामाजिक अगुवाहरूले यस कदमलाई केवल प्रशासनिक निर्णयका रूपमा नभई महिला नेतृत्व र लैंगिक समानतालाई व्यवहारमा लागू गर्ने प्रयासका रूपमा व्याख्या गरेका छन् ।

उनीहरूका अनुसार अझै पनि समाजका धेरै क्षेत्रमा महिलाको सहभागिता सीमित भइरहेका बेला शिक्षाजस्तो संवेदनशील क्षेत्रमा महिलालाई प्राथमिकता दिनु दूरदर्शी निर्णय हो ।

महिला अधिकारकर्मीहरूका अनुसार किशोरीमैत्री विद्यालय निर्माणका लागि भौतिक पूर्वाधार मात्र पर्याप्त हुँदैन, विद्यालयको समग्र वातावरण पनि संवेदनशील र सुरक्षित हुनुपर्छ ।

महिला शिक्षक तथा महिला नेतृत्वको उपस्थितिले छात्रीहरूमा आत्मविश्वास वृद्धि हुनुका साथै विद्यालय छाड्ने दर घटाउन समेत सहयोग पुग्ने उनीहरूको भनाइ छ ।

जनकपुरधाम उपमहानगरपालिकाको यो पहलले अन्य स्थानीय तहलाई समेत प्रेरणा दिने अपेक्षा गरिएको छ ।

विशेषगरी कन्या विद्यालयहरूको प्रभावकारी व्यवस्थापन, छात्रीहरूको सुरक्षा, महिला नेतृत्व प्रवर्द्धन तथा लैंगिक समानताको अभ्यासमा यो निर्णय नमूना बन्न सक्ने शिक्षा क्षेत्रका जानकारहरू बताउँछन् ।

शिक्षा क्षेत्रमा गरिएको यस्तो परिवर्तनले विद्यालय प्रशासनमा सुधार ल्याउने मात्र नभई समाजमा महिलाको भूमिका, नेतृत्व क्षमता र सहभागिताप्रति सकारात्मक दृष्टिकोण निर्माण गर्नसमेत योगदान पुग्ने विश्वास गरिएको छ ।