जनकपुरधाम, ११ जेठ । मधेश प्रदेश सरकारको मन्त्रिपरिषद् विस्तार अन्तिम समयमा आएर फेरि अन्योलमा परेको छ ।

सत्ता गठबन्धनभित्र मन्त्रालय भागबण्डा र मन्त्री चयनको विषयमा सहमति जुट्न नसकेपछि तय गरिएको शपथ ग्रहण कार्यक्रम स्थगित गरिएको हो ।

मुख्यमन्त्री कृष्णप्रसाद यादवले सोमबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका थिए ।

नेकपा एमालेका तर्फबाट शारदा थापा, मनोज सिंह र लखन ला दासलाई मन्त्रीको शपथ गराउने तयारी गरिएको थियो ।

शपथका लागि प्रस्तावित मन्त्रीहरू मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा समेत पुगिसकेका थिए ।

तर, अन्तिम समयमा कार्यक्रम रोकिएपछि उनीहरू निराश हुँदै फर्किएका छन् ।

यसअघि एमालेका तर्फबाट मोहम्मद समिरले विना विभागीय मन्त्रीको रूपमा शपथ लिइसकेका छन् ।

सुरुमा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपासहितको नयाँ सत्ता गठबन्धन विस्तार गर्दै सरकारलाई पूर्णता दिने सहमति बनेको थियो ।

तर, मन्त्रालय बाँडफाँट र कुन दलले कुन मन्त्रालय पाउने भन्ने विषयमा सहमति हुन नसक्दा नेकपा सरकारमा सहभागी हुन पछि हटेको स्रोतको दाबी छ ।

प्रदेश प्रमुखको कार्यालयमा शपथ ग्रहणको सम्पूर्ण तयारीसमेत गरिएको थियो ।

सभामुख रामअशिष यादव र उपसभामुख बबिता राउत इशरसमेत कार्यक्रमस्थल पुगिसकेका थिए ।

साँझ ५ बजेका लागि तय गरिएको शपथ ग्रहण कार्यक्रम अन्तिम समयमा स्थगित भएपछि राजनीतिक वृत्तमा नयाँ चर्चा सुरु भएको छ ।

पछिल्लो समय मधेश प्रदेशको सत्तागठबन्धनभित्रै नेताहरूबीच आरोप प्रत्यारोप बढ्दै गएको छ ।

गठबन्धनभित्रको आन्तरिक विवादका कारण सरकार विस्तार प्रक्रिया पटक पटक प्रभावित हुँदै आएको छ ।