जनकपुरधाम, ११ जेठ । मधेश प्रदेशकै सबैभन्दा बढी गरिब तथा विपन्न बिरामीको उपचार हुने प्रादेशिक अस्पताल जनकपुरमा चिकित्सकहरूको पेनडाउन आन्दोलनका कारण स्वास्थ्य सेवा प्रभावित बनेपछि बिरामी तथा उनीहरूका आफन्त समस्यामा परेका छन् ।

एक सुत्केरी महिलाको उपचारका क्रममा मृत्यु भएपछि शल्यक्रियामा संलग्न चिकित्सकमाथि कारबाहीको माग उठेपछि अस्पतालभित्र विवाद चुलिएको हो ।

घटनापछि अस्पताल प्रशासनले दुई चिकित्सकलाई निलम्बन गरेसँगै त्यहाँ कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएका छन् ।

चिकित्सकहरूले विगत तीन दिनदेखि पेनडाउन गर्दै आएकाले ओपिडी सेवा प्रभावित भएको छ ।

अस्पतालका विभिन्न वार्डको सेवा समेत आंशिक रूपमा बन्द हुँदा उपचारका लागि आएका सयौँ बिरामी समस्यामा परेका छन् ।

टिकट काटेर घण्टौँ लाइनमा बसेका बिरामी उपचार नपाउँदा निराश बनेका छन् ।

विशेषगरी आर्थिक अवस्था कमजोर भएका बिरामीहरू सबैभन्दा बढी प्रभावित भएका छन् ।

निजी अस्पतालमा उपचार गराउन नसक्ने बिरामीहरू सरकारी अस्पतालकै भरमा रहेकाले सेवा अवरुद्ध हुँदा उनीहरू थप पीडित बनेका हुन् ।

अस्पतालजस्तो संवेदनशील क्षेत्रमा देखिएको आन्दोलनले स्वास्थ्य सेवाप्रति नागरिकको भरोसा कमजोर बन्दै गएको स्थानीयको भनाइ छ ।

उपचारका क्रममा हुने प्रत्येक घटनालाई चिकित्सकको लापरबाहीसँग जोडेर हेर्ने प्रवृत्तिले चिकित्सक र बिरामीबीचको सम्बन्धमासमेत असर परेको टिप्पणी हुन थालेको छ ।

उता, केही बिरामीका आफन्तले भने आन्दोलनलाई निजी अस्पतालतर्फ बिरामी धकेल्ने प्रयासको रूपमा समेत व्याख्या गरेका छन् ।

‘सरकारी अस्पतालमा सेवा बन्द भएपछि बाध्य भएर निजी अस्पताल जानुपर्ने अवस्था बनाइएको छ,’एक बिरामीका आफन्तले गुनासो गरे ।

यसैबीच, मृतक पक्ष र अस्पताल प्रशासनबीच सहमति भइसकेको बताइए पनि चिकित्सकहरूको आन्दोलन पूर्ण रूपमा फिर्ता नभएकाले अस्पतालको अवस्था अझै सामान्य हुन सकेको छैन ।

बिरामीहरूले यथाशीघ्र सेवा सुचारु गर्न सरकार तथा अस्पताल प्रशासनसँग माग गरेका छन् ।