बरियारपट्टी छोटी भन्सार बन्द गर्ने निर्णयविरुद्ध जिरोमाइलमा चक्काजाम

-श्याम कुमार ठाकुर
सिरहा, ११ जेठ । सिरहाको बरियारपट्टीस्थित छोटी भन्सार कार्यालय बन्द गर्ने सरकारी निर्णयको विरोधमा स्थानीयवासी, व्यापारी तथा राजनीतिक दलका प्रतिनिधिहरू आन्दोलनमा उत्रिएका छन् ।
आन्दोलनकारीहरूले सोमबार धनगढीमाई नगरपालिका–९ को जिरोमाइल चोकमा चक्काजाम गर्दै सरकारविरुद्ध प्रदर्शन गरेका हुन् ।
प्रदर्शनकारीहरूले बरियारपट्टी छोटी भन्सार कार्यालय खारेज गर्ने निर्णय तत्काल फिर्ता लिन माग गर्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका थिए ।
केही समय राजमार्ग अवरुद्ध हुँदा यात्रु तथा सवारी चालकहरू समस्यामा परेका थिए भने यातायात सेवासमेत प्रभावित बनेको थियो ।
नेपाल सरकारले २१ बैशाख २०८३ मा नेपाल राजपत्रमार्फत सूचना प्रकाशित गरी बरियारपट्टी छोटी भन्सार कार्यालय बन्द गर्ने निर्णय सार्वजनिक गरेपछि स्थानीयस्तरमा विरोध चर्किएको हो ।
स्थानीय व्यापारी तथा बासिन्दाहरूले भन्सार कार्यालय बन्द हुँदा सीमावर्ती क्षेत्रको व्यापार व्यवसाय, स्थानीय आर्थिक गतिविधि र राजस्व संकलनमा नकारात्मक असर पर्ने बताएका छन् ।
आन्दोलनमा सहभागीहरूले सरकारको निर्णय स्थानीय जनभावनाविपरीत रहेको आरोप लगाउँदै तत्काल सच्याउन माग गरेका छन् ।
उनीहरूले भन्सार कार्यालय हटाइए सीमावर्ती क्षेत्रको व्यापारिक गतिविधि कमजोर हुने र सयौं व्यवसायी प्रत्यक्ष मारमा पर्ने बताएका छन् ।
यसअघि पनि आन्दोलनकारीहरूले २५ वैशाखदेखि २७ बैशाखसम्म चरणबद्ध आन्दोलन गरेका थिए । पटक पटक ध्यानाकर्षण गराउँदा समेत सरकारले कुनै सुनुवाइ नगरेको भन्दै उनीहरूले थप सशक्त आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी दिएका छन् ।
स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरी परिचालन गरिएको थियो । सुरक्षाकर्मीले आन्दोलनकारीसँग समन्वय गरी राजमार्ग खुलाउने प्रयास गरेका थिए ।
स्थानीय प्रशासनले सम्बन्धित निकायसँग समन्वय गरी समस्या समाधानका लागि पहल भइरहेको जनाएको छ ।





तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


