जलेश्वर कारागारबाट भागेका २५० कैदी अझै फरार

महोत्तरी, ११ जेठ । महोत्तरीस्थित जलेश्वर कारागार अहिले दोहोरो संकटसँग जुधिरहेको छ ।
एकातिर आन्दोलनको मौका छोपी भागेका कैदीबन्दीमध्ये अझै सयौँ फरार छन् भने अर्कोतर्फ पुरानो संरचना, अत्यधिक भीड र सीमित स्रोतसाधनका कारण कारागार व्यवस्थापन थप चुनौतीपूर्ण बन्दै गएको छ ।
गत भदौ २४ गते देशव्यापी जेनजी आन्दोलन उत्कर्षमा रहेका बेला महोत्तरीको जलेश्वर नगरपालिका–२ स्थित जलेश्वर कारागार तोडेर ५७६ कैदीबन्दी फरार भएका थिए । तीमध्ये हालसम्म ३२६ जना मात्रै फर्किएका छन् भने अझै २५० जना सम्पर्कविहीन रहेको कारागार प्रशासनले जनाएको छ ।
जलेश्वर कारागारका प्रमुख अशोककुमार क्षेत्रीका अनुसार फर्किने क्रम अझै जारी छ । ‘हामीले सुरुदेखि नै सबैलाई स्वेच्छाले फर्किन आग्रह गरेका थियौँ । अहिले पनि केही कैदीबन्दी आफैँ उपस्थित भइरहेका छन्,’उनले भने ।
भाग्नेमध्ये ४० जना भारतीय नागरिकसमेत रहेका थिए । हालसम्म ३१६ नेपाली र १० भारतीय नागरिक कारागारमा फर्किसकेको प्रशासनले जनाएको छ ।
भारतीय प्रहरीले सीमावर्ती क्षेत्रमा पक्राउ गरेका १३ जनालाई पुनः नेपाल फर्काएर कारागार प्रशासनलाई बुझाएको थियो भने अन्य धेरै कैदीबन्दी आफैँ उपस्थित भएका हुन् ।
कारागार प्रशासनले फरार कैदीबन्दीलाई लुकाउने वा आश्रय दिने व्यक्तिमाथि पनि कानुनअनुसार कारबाही हुने चेतावनी दिएको छ ।
कारागार ऐन, २०७९ तथा प्रचलित कानुनअनुसार फर्किएका कैदीबन्दीमाथि थप कानुनी प्रक्रिया अघि बढाइने प्रमुख क्षेत्रीले बताए ।
देशकै पुराना कारागारमध्ये एक मानिने जलेश्वर कारागार वि.सं. १९१३ मा निर्माण गरिएको हो । समयसँगै केही नयाँ संरचना थपिए पनि अधिकांश भवन अझै जीर्ण अवस्थामा छन् ।
करिब २०० जना राख्ने क्षमता रहेको कारागारमा अहिले त्यसको दोब्बरभन्दा बढी कैदीबन्दी राखिएको छ ।
धनुषा, महोत्तरीलगायत जिल्लाका कैदीबन्दीका साथै अन्य जिल्लाबाट ल्याइने थुनुवासमेत यही कारागारमा व्यवस्थापन गर्नुपर्दा चाप बढ्दै गएको प्रशासनको भनाइ छ । वर्षायाम सुरु हुन लागेकाले डुबानको जोखिमले थप चिन्ता बढाएको छ ।
कारागार प्रमुख क्षेत्रीका अनुसार दैनिक खानेपानी र खानाको व्यवस्था सामान्य अवस्थामा भए पनि औषधिको अभाव गम्भीर समस्या बनेको छ ।
‘कैदीबन्दीको संख्या अत्यधिक भएकाले औषधि व्यवस्थापन गर्न कठिन भइरहेको छ,’ उनले भने, ‘बजेट पर्याप्त नहुँदा आवश्यक औषधि समयमै जुटाउन समस्या छ ।’
भीडभाड र पुरानो संरचनाका कारण संक्रमण फैलिने जोखिमसमेत बढेको उनले बताए । बिरामी कैदीबन्दीलाई समयमै उपचार उपलब्ध गराउन नसक्दा थप जटिलता सिर्जना हुने गरेको प्रशासनको भनाइ छ ।
कारागारभित्रको अवस्था सुधार गर्नुपर्ने आवाज पूर्व कैदीबन्दीबाट समेत उठ्न थालेको छ ।
केही दिनअघि कारागार जीवन बिताएर बाहिरिएका एक व्यक्तिले कैदीबन्दीले अत्यन्त कष्टकर अवस्था भोग्नुपरेको बताए ।
‘दिनभर एउटै ठाउँमा बस्नुपर्छ । मनोरञ्जन, खेलकुद वा पुस्तकालयको राम्रो व्यवस्था छैन,’ उनले भने, ‘सीप सिकाउने तालिम र काम गर्ने वातावरण भए भविष्यमा जीविकोपार्जन गर्न सहज हुन्थ्यो ।’
उनका अनुसार अवसरको अभावका कारण धेरै कैदीबन्दी मानसिक तनाव र एक्लोपनको समस्याबाट पीडित हुने गरेका छन् ।
कारागारलाई सजाय दिने थलो मात्र नभई सुधार केन्द्रका रूपमा विकास गर्नुपर्नेमा उनले जोड दिए ।
जलेश्वर नगरपालिका–२ क्षेत्रमा करिब ६ बिघा जग्गा उपलब्ध भए पनि अहिलेसम्म आधुनिक कारागार भवन निर्माणको काम अघि बढ्न सकेको छैन ।
प्रशासनका अनुसार नयाँ संरचना निर्माण भए कैदीबन्दी व्यवस्थापन धेरै सहज हुने थियो ।
पर्याप्त स्थान र आधुनिक संरचना बनेपछि पुस्तकालय, खेलकुद, सीपमूलक तालिम तथा सुधारमुखी कार्यक्रम सञ्चालन गर्न सकिने कारागार प्रशासनको विश्वास छ ।
यसैबीच, महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले फरार कैदीबन्दीको खोजी कार्य निरन्तर जारी रहेको बताए ।
‘नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत सुरक्षा निकाय परिचालित छन् । फरार रहेका सबैको खोजतलास भइरहेको छ,’उनले भने ।
स्थानीय नागरिक समाजका अगुवा राकेश चौधरी ले पुरानो संरचना र सीमित स्रोतसाधनका कारण कारागार व्यवस्थापन झन् जटिल बन्दै गएको बताए ।
उनका अनुसार नयाँ भवन निर्माण र सुधारमुखी कार्यक्रम सञ्चालन नगरेसम्म समस्या समाधान हुन कठिन छ ।
पुरानो संरचना, भीडभाड, औषधिको अभाव र सुरक्षा चुनौतीका बीच जलेश्वर कारागार अहिले सुधारको प्रतीक्षामा छ ।
प्रशासनिक कमजोरी र पूर्वाधार अभाव समाधान गर्न नसके यस्ता घटना पुनः दोहोरिन सक्ने चिन्ता स्थानीयस्तरमा बढ्दै गएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


