तिरहुतिया गाछीमा चारदिने योग विज्ञान शिविर हुँदै

जनकपुरधाम, १० जेठ । जनकपुरधामस्थित तिरहुतिया गाछीमा चारदिने योग विज्ञान शिविर आयोजना हुन लागेको छ ।
जेठ ११ गतेदेखि १४ गतेसम्म सञ्चालन हुने उक्त शिविरमा योगगुरु रामदेवका शिष्या साध्वी देवादितीको विशेष सहभागिता रहने आयोजकले जनाएको छ ।
शिविरको आयोजनाबाट मधेश प्रदेशका नागरिकलाई स्वस्थ जीवनशैलीतर्फ प्रेरित गर्ने लक्ष्य लिइएको आयोजकको भनाइ छ । शिविरमा प्राणायाम, ध्यान, विभिन्न योग अभ्यास तथा स्वास्थ्यसम्बन्धी प्रशिक्षण प्रदान गरिने जनाइएको छ ।
जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दासले सनातन धर्ममा योगको विशेष महत्व रहेको उल्लेख गर्दै योग शारीरिक अभ्यासमा मात्र सीमित नभई आत्मशुद्धि, मानसिक शान्ति र आध्यात्मिक उन्नतिको माध्यम भएको बताए । उनले आधुनिक जीवनशैलीका कारण बढ्दै गएको तनाव र विभिन्न रोगबाट बच्न योग प्रभावकारी उपाय बन्न सक्ने धारणा व्यक्त गरे ।
पतञ्जली योग पीठ मधेशका उपाध्यक्ष मनोहर साहले नियमित योग अभ्यासले शरीरलाई स्वस्थ, मनलाई शान्त तथा जीवनलाई अनुशासित बनाउने बताए । उनका अनुसार रोगअनुसारको योग अभ्यासले शारीरिक लाभ मात्र नभई विभिन्न रोग निको हुने सम्भावना समेत बढाउँछ ।
आयोजकले शिविरमा सयौँ सर्वसाधारणको सहभागिता रहने विश्वास गरेको छ । शिविरमार्फत जनकपुरधामसहित मधेशका विभिन्न जिल्लामा योग र स्वास्थ्यप्रति जनचेतना अभिवृद्धि हुने विश्वास व्यक्त गरिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


