जनकपुरधाम, ०९ जेठ । उच्च अदालत जनकपुरका कायम मुकायम मुख्य न्यायाधीश टेकनारायण कुँवरले जनकपुरधामलाई पुनः शिक्षाको केन्द्रका रूपमा स्थापित गर्न सामूहिक पहल आवश्यक रहेको बताएका छन् ।

रौनियार युवा मञ्चद्वारा एसईईमा उत्कृष्ट अंक ल्याएका विद्यार्थीहरूको सम्मानमा आयोजित कार्यक्रममा बोल्दै उनले जनकपुरधाम कुनै समय शिक्षा, ज्ञान र संस्कृतिको महत्वपूर्ण केन्द्र रहेकाले त्यसको पुरानो पहिचान फर्काउन सबै पक्षले जिम्मेवारीपूर्वक लाग्नुपर्ने बताए ।

मुख्य न्यायाधीश कुँवरले पछिल्लो समय जनकपुरधामको शैक्षिक स्तरमा क्रमशः गिरावट देखिन थालेको उल्लेख गर्दै युवापुस्तामा लगानी गर्न सके मात्रै समाज र राष्ट्रको भविष्य उज्ज्वल बन्न सक्ने धारणा राखे ।

उनले विद्यार्थीलाई सम्मान गर्ने कार्यले उनीहरूमा थप उत्साह र प्रेरणा मिल्ने भन्दै रौनियार युवा मञ्चको पहललाई उदाहरणीय कामको संज्ञा दिए ।

‘आजका विद्यार्थी नै भोलिका नेतृत्वकर्ता, प्रशासक, चिकित्सक, अभियन्ता र राष्ट्र निर्माणका आधार हुन्,’उनले भने, ‘युवामा लगानी गरे मात्रै जनकपुरधामले आफ्नो पुरानो वैभव र गरिमा पुनः प्राप्त गर्न सक्छ ।’

रौनियार युवा मञ्चका अध्यक्ष राकेश गुप्ताको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वजातीय समुदायका १६ जना तथा जनकपुरधामका विभिन्न सामुदायिक विद्यालयबाट उत्कृष्ट अंकसहित एसईई उत्तीर्ण भएका २० जना विद्यार्थीलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिका–४ का वडाध्यक्ष सुरेश झा, रौनियार सेवा समितिका प्रमुख संरक्षक शिवनाथ गुप्ता, याज्ञवल्क्य संस्कृत माध्यमिक विद्यालय ज्ञानकुपका प्रधानाध्यापक संजय झा तथा नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष पुरन गुप्ता लगायतको उपस्थिति रहेको थियो ।