-श्याम कुमार ठाकुर
सिरहा, ०९ जेठ ।
महिलामा बढ्दो जटिल स्वास्थ्य समस्यालाई लक्षित गर्दै सिरहाको मिर्चेया नगरपालिकाले सञ्चालन गरेको एकीकृत स्वास्थ्य स्क्रिनिङ तथा रोकथाम शिविरमा ४ सयभन्दा बढी महिलाको सहभागिता रहेको छ ।

३० देखि ६० वर्ष उमेर समूहका महिलालाई लक्षित गरी आयोजना गरिएको शिविरमा स्तन क्यान्सर, पाठेघरको मुखको क्यान्सर, आङ खस्ने समस्या, प्रसूति फिस्टुला तथा बाझोपनसम्बन्धी निःशुल्क परीक्षण, परामर्श र स्क्रिनिङ सेवा प्रदान गरिएको नगरपालिकाले जनाएको छ ।

मिर्चेया अस्पताल परिसरमा आयोजित शिविरमा बिहानैदेखि महिलाहरूको बाक्लो उपस्थिति देखिएको थियो । धेरै महिलाले पहिलो पटक आफ्नै नगरमा विशेषज्ञ स्वास्थ्य सेवा सहज रूपमा प्राप्त गरेको भन्दै खुसी व्यक्त गरेका थिए ।

नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख राजन कुमार साहले महिलामा लुकेर रहेका रोग समयमै पहिचान गरी उपचारको पहुँच विस्तार गर्ने उद्देश्यले शिविर सञ्चालन गरिएको बताए ।

उनले महिलाहरू स्वास्थ्यप्रति पहिलेभन्दा सचेत बन्दै गएको र शिविरप्रति उत्साहजनक सहभागिता देखिनु सकारात्मक संकेत भएको उल्लेख गरे ।

‘गम्भीर रोगलाई प्रारम्भिक अवस्थामै पहिचान गर्न सके उपचार प्रक्रिया सहज र प्रभावकारी हुन्छ,’ उनले भने, ‘त्यसैले महिलाको स्वास्थ्य सुरक्षाका लागि यस्ता शिविर आवश्यक छन् ।’

शिविरमा विशेषज्ञ चिकित्सक र स्वास्थ्यकर्मीको टोलीले स्वास्थ्य परीक्षण गर्दा धेरै महिलामा प्रारम्भिक अवस्थामै विभिन्न समस्या पहिचान भएको जनाएको छ ।

सहभागी महिलाहरूले गाउँ नगरमै विशेषज्ञ सेवा उपलब्ध हुँदा उपचारका लागि टाढा धाउनुपर्ने बाध्यता कम भएको प्रतिक्रिया दिए ।

नगरपालिकाले आगामी दिनमा पनि महिलाको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।