श्री पुरुषोत्तम महिनामा जानकी मन्दिरमा ५६ भोग अर्पण

जनकपुरधाम, ०८ जेठ । श्री पुरुषोत्तम महिनाको पावन अवसरमा भारतको जयपुर निवासी एक दम्पतीले आफ्नो वैवाहिक जीवनको रजत जयन्तीको उपलक्ष्यमा जनकपुरधामस्थित जानकी मन्दिर परिसरमा विशेष धार्मिक कार्यक्रम आयोजना गर्दै भगवान श्रीराम र माता जानकीलाई ५६ भोग अर्पण गरेका छन् ।
धार्मिक आस्था, वैवाहिक संस्कार तथा सनातन परम्पराप्रतिको श्रद्धा अभिव्यक्त गर्दै आयोजित कार्यक्रममा ठूलो संख्यामा साधुसन्त, श्रद्धालु भक्तजन तथा स्थानीयवासीको सहभागिता रहेको थियो ।
विशेष पूजा, संकीर्तन, वैदिक मन्त्रोच्चारण तथा प्रसाद वितरणसहित सम्पन्न कार्यक्रममा जानकी मन्दिरको वातावरण भक्तिमय बनेको थियो ।
जयपुर निवासी दम्पतीले वैवाहिक जीवनको २५ वर्ष पूरा भएको अवसरलाई धार्मिक र आध्यात्मिक ढंगले स्मरणीय बनाउने उद्देश्यले मिथिलाको ऐतिहासिक तथा धार्मिक धरोहर जानकी मन्दिरलाई रोजेको बताएका छन् ।

उनीहरूले भगवान श्रीराम–जानकीको कृपाले पारिवारिक जीवन सुखमय बनेको विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि धर्म, संस्कार र मानवीय सेवामा समर्पित रहने प्रतिबद्धता जनाए ।
जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दासले पुरुषोत्तम महिना आत्मशुद्धि, भक्ति र सत्कर्मको महिना भएको उल्लेख गरे । उनले धार्मिक परम्परा पूजा–आराधनासम्म मात्र सीमित नभई समाजलाई नैतिकता, सहिष्णुता र पारिवारिक एकताको सन्देश दिने माध्यम भएको बताए ।
महन्थ दासले पछिल्लो समय आधुनिक जीवनशैलीका कारण पारिवारिक तथा धार्मिक संस्कार कमजोर बन्दै गएको उल्लेख गर्दै यस्ता धार्मिक कार्यक्रमले समाजलाई सकारात्मक ऊर्जा प्रदान गर्ने धारणा राखे ।

‘विवाह मात्र सामाजिक सम्बन्ध नभई यो आध्यात्मिक र सांस्कृतिक बन्धन पनि हो,’उनले भने, ‘रजत जयन्तीजस्तो महत्वपूर्ण अवसरलाई भगवानको चरणमा समर्पित गर्नु आफैंमा प्रेरणादायी कार्य हो ।’
उनले मिथिलाको धार्मिक महत्व विश्वभर फैलिँदै गएको उल्लेख गर्दै भारतलगायत विभिन्न मुलुकबाट श्रद्धालुहरू जनकपुरधाम आउने क्रम बढिरहेको बताए ।
जानकी मन्दिरले धार्मिक पर्यटन प्रवर्द्धनसँगै सनातन संस्कृतिको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको उनको भनाइ थियो ।
कार्यक्रमको अवसरमा मन्दिर परिसरमा ५६ प्रकारका परिकार सजाएर विशेष आरती गरिएको थियो । श्रद्धालुहरूले भगवानलाई अर्पण गरिएको भोगको दर्शन गर्नुका साथै प्रसाद ग्रहण गरेका थिए ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


