कांग्रेस–एमाले गठबन्धनले देशलाई संकटतर्फ धकेल्दैछ: चन्दन सिंह

जनकपुरधाम, ०८ जेठ । जनमत पार्टीका मधेश प्रदेश संसदीय दलका नेता चन्दन कुमार सिंहले नेपाली कांग्रेस र नेकपा एमाले बीचको गठबन्धनले देशलाई पुनः अस्थिरता र संकटतर्फ धकेल्ने खतरा रहेको बताएका छन् ।
शुक्रबार बसेको मधेश प्रदेश सभा बैठकमा बोल्दै नेता सिंहले विगतमा कांग्रेस–एमाले सहकार्यको परिणाम देशले भोगिसकेको उल्लेख गर्दै अहिलेको राजनीतिक समीकरणप्रति चिन्ता व्यक्त गरे ।
उनले जनआन्दोलनअघिको राजनीतिक अवस्था स्मरण गराउँदै त्यतिबेलाको परिस्थिति पुनः दोहोरिन सक्ने बताए ।
‘भोलि मधेश प्रदेश नै नरहने अवस्था आउँदैन भनेर ग्यारेन्टी गर्न सकिँदैन,’भन्दै उनले वर्तमान सत्ता गठबन्धनप्रति असन्तुष्टि जनाए ।
सिंहले केन्द्रमा नेपाली कांग्रेस, एमाले र नेकपा माओवादी केन्द्र बीच बनेको सहकार्यलाई ‘अप्राकृतिक गठबन्धन’ को संज्ञा दिएका छन् ।
उनका अनुसार वामपन्थी तथा गणतन्त्रवादी शक्तिहरूबीचको अहिलेको समीकरण राजनीतिक सिद्धान्त र जनभावना विपरीत छ ।
उनले संघीयता कमजोर पार्न खोज्ने शक्तिहरू एकजुट भएको आरोप लगाउँदै यस्तो गठबन्धन जनताको विश्वासमाथिको धोका भएको टिप्पणी गरे ।
बैठकमा नेता सिंहले कृष्ण प्रसाद यादव नेतृत्वको सरकारलाई जनमत पार्टीले समर्थन नगर्ने स्पष्ट पार्दै मुख्यमन्त्रीको पक्षमा मतदान नहुने घोषणासमेत गरे ।


