उपमेयरलाई पाखा लगाउँदै मेयरले वडाध्यक्षलाई दिए कार्यवाहकको जिम्मेवारी

जनकपुरधाम, ०८ जेठ । जनकपुरधामका मेयर मनोजकुमार साहले कानुनी व्यवस्थाविपरीत वडाध्यक्षलाई कार्यवाहक प्रमुखको जिम्मेवारी दिएको भन्दै विवाद उत्पन्न भएको छ ।
मेयर साहले शुक्रबार वडा नम्बर ९ का वडाध्यक्ष प्रमेश्वर साहलाई कार्यवाहक प्रमुखको जिम्मेवारी दिएका हुन् । तर, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार नगरप्रमुख सात दिनभन्दा बढी समय अनुपस्थित हुने अवस्थामा उपप्रमुखलाई कार्यभार दिनुपर्ने स्पष्ट व्यवस्था रहेको छ ।
उपप्रमुख पनि अनुपस्थित भए मात्रै कार्यपालिका सदस्य वा अन्य सदस्यलाई जिम्मेवारी दिन सकिने कानुनी प्रावधान छ ।
तर, उपमेयर किशोरी साह जनकपुरधाममै सक्रिय रहेकै अवस्थामा मेयरले वडाध्यक्षलाई कार्यवाहक जिम्मेवारी दिएपछि नगरभित्र राजनीतिक तथा प्रशासनिक वृत्तमा चर्चा सुरु भएको छ ।
मेयर र उपमेयर दुवै जना नेपाली कांग्रेसबाट निर्वाचित हुन् । कार्यवाहक जिम्मेवारी पाएका वडाध्यक्ष प्रमेश्वर साह पनि कांग्रेसकै नेता छन् । उनी मेयर साहका निकटस्थ व्यक्ति रहेको चर्चा नगरभित्र चलिरहेको छ ।
उपमेयर किशोरी साहले भने आफूलाई कार्यवाहक जिम्मेवारी नदिइएको विषयमा कुनै जानकारी नदिइएको प्रतिक्रिया दिएका छन् ।
‘म जनकपुरधाममै छु, विभिन्न कार्यक्रममा सहभागी भइरहेको छु । किन जिम्मेवारी दिइएन भन्नेबारे मलाई जानकारी छैन,’उपमेयर साहले भने, ‘उहाँहरूको सोच त्यही हो भने अब के गर्ने?’
नगरप्रमुखको निर्णयले स्थानीय सरकार सञ्चालन ऐनको मर्ममाथि प्रश्न उठेको भन्दै केही जनप्रतिनिधिले असन्तुष्टि व्यक्त गरेका छन् ।


