जनकपुरधाम, ०८ जेठ । मधेश प्रदेशमा नयाँ राजनीतिक समीकरण बनेपछि मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् ।

नेकपा एमाले, नेपाली कांग्रेस र नेकपाबीच भएको नयाँ राजनीतिक सहमतिअनुसार सरकारलाई निरन्तरता दिन मुख्यमन्त्री यादवले विश्वासको मत लिन लागेका हुन् । यसका लागि मधेश प्रदेशसभा बैठक आज दिउँसो १ बजे बोलाइएको छ ।

गत बैशाख २२ गते जनमत पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा परेको थियो । त्यसपछि जेठ १ गते नै विश्वासको मत लिने तयारी भए पनि अन्तिम समयमा प्रदेशसभा कार्यसूचीबाट उक्त प्रस्ताव हटाइएको थियो ।

सत्तारुढ दलभित्रै ‘फ्लोर क्रस’ हुन सक्ने आशंका र राजनीतिक असमझदारीका कारण सरकार तत्काल शक्ति परीक्षणमा जान नसकेको राजनीतिक वृत्तमा चर्चा भएको थियो ।

यसअघि सरकारलाई जनता समाजवादी पार्टी नेपाल, नेपाली कांग्रेस तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को समर्थन रहेको थियो । तर, बिहीबार राति नेपाल कम्युनिस्ट पार्टी (एमाले) सरकारमा सहभागी हुने सहमति भएपछि मधेश प्रदेशको सत्ता समीकरण फेरिएको हो ।

नयाँ समीकरणअनुसार अब एमाले, कांग्रेस र नेकपाको संयुक्त गठबन्धन सरकार बनेको छ । राजनीतिक समीकरण फेरिएसँगै प्रदेश सरकारको स्थायित्व र आगामी सत्ता सहकार्यबारे पनि चासो बढेको छ ।

हाल मधेश प्रदेशसभामा १०२ सदस्य कायम रहेका छन् । प्रदेशसभामा नेपाली कांग्रेसका २२, एमालेका २४, जसपा नेपालका २६, जनमत पार्टीका १२ तथा नेकपाका १५ सांसद रहेका छन् । यस्तै नागरिक उन्मुक्ति पार्टी, नेपाल संघीय समाजवादी पार्टी र राप्रपाका एक–एक सांसद छन् ।