जनकपुरधाम, ०८ जेठ । नेपालसहित विश्वभर बिहीबार विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी अन्तर्राष्ट्रिय जैविक विविधता दिवस मनाइएको छ ।

संयुक्त राष्ट्र सङ्घको आह्वानमा प्रत्येक वर्ष मे २२ मा मनाइने यस दिवसले जैविक विविधताको संरक्षण, वातावरणीय सन्तुलन कायम तथा दिगो विकासमा यसको भूमिकाबारे जनचेतना फैलाउने उद्देश्य राखेको छ ।

दिवसको अवसरमा मधेश प्रदेशको वन तथा वातावरण मन्त्रालयले जनकपुरधामस्थित गोगल प्रसाद नमूना माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूसँग अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको छ । कार्यक्रममा जैविक विविधताको महत्व, नेपालको जैविक सम्पदा तथा यसको संरक्षणका उपायबारे जानकारी दिइएको थियो ।

मन्त्रालयका निमित्त सचिव वेचन महतोले विद्यार्थीहरूलाई जैविक विविधता वनजंगलसँग मात्र सम्बन्धित विषय नभई मानव जीवन, कृषि, जलस्रोत तथा वातावरणीय सन्तुलनसँग प्रत्यक्ष जोडिएको विषय भएको बताए । उनले यस्ता कार्यक्रममार्फत नयाँ पुस्तामा वातावरण संरक्षणप्रति जिम्मेवारीबोध गराउने प्रयास गरिएको उल्लेख गरे ।

विद्यालयका प्रधानाध्यापक महावीर दासले विद्यालयलाई ‘ग्रीन विद्यालय’ का रूपमा विकास गर्ने लक्ष्यसहित विभिन्न वातावरणमैत्री गतिविधि सञ्चालन भइरहेको जानकारी दिए । उनले विद्यालय परिसरमा हरियाली प्रवद्र्धन, सरसफाइ तथा वृक्षारोपणलाई प्राथमिकता दिइएको बताउँदै यस अभियानमा विद्यार्थीहरूको सक्रिय सहभागिता आवश्यक रहेको धारणा राखे ।

दिवसको अवसरमा विद्यालय परिसरमा वृक्षारोपण कार्यक्रमसमेत गरिएको थियो । वातावरणीय प्रदूषण न्यूनीकरण तथा जैविक विविधताको संरक्षणका लागि वृक्षारोपण प्रभावकारी माध्यम भएकाले कार्यक्रम आयोजना गरिएको मन्त्रालयले जनाएको छ ।