उच्च अदालतको अगुवाइमा जनकपुरधाममा बृहत् सरसफाइ अभियान

जनकपुरधाम, ०८ जेठ । जनकपुरधामस्थित उच्च अदालत जाने मुख्य मार्ग तथा आसपासका सरकारी कार्यालय परिसरमा बिहीबार बृहत् सरसफाइ अभियान सञ्चालन गरिएको छ ।
‘संयुक्त सरसफाई चलाऔँ, स्वच्छ–सफा नमूना मार्ग बनाऔँ’ भन्ने नारासहित उच्च अदालत जनकपुरको अगुवाइमा अभियान सञ्चालन गरिएको हो ।
सरसफाइ गरिएको क्षेत्रमा उच्च अदालतसँगै जिल्ला अदालत, सरकारी वकिलको कार्यालय, जिल्ला प्रहरी कार्यालय तथा नेपाल बार एसोसिएसनलगायतका महत्वपूर्ण सरकारी निकाय रहेका छन् ।
अभियानमा विभिन्न सरकारी कार्यालयका प्रमुख, कर्मचारी तथा स्थानीय जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो । जनकपुरधाम उपमहानगरपालिका–४ का वडाध्यक्ष सुरेश झासहित स्थानीय सरोकारवालाहरू पनि अभियानमा सहभागी भएका थिए ।

उच्च अदालत जनकपुरका कायम मुकायम मुख्य न्यायाधीश टेकनारायण कुँवरले दैनिक हजारौँ सेवाग्राही आउने–जाने मार्गलाई स्वच्छ र व्यवस्थित बनाउने उद्देश्यले सरसफाइ अभियान सञ्चालन गरिएको जानकारी दिए । उनले कार्यालय परिसर मात्र नभई सेवाग्राहीले प्रयोग गर्ने सडक तथा वातावरण सफा राख्नु सबैको साझा दायित्व भएको बताए ।
मुख्य न्यायाधीश कुँवरले जनकपुरधाम धार्मिक तथा ऐतिहासिक नगरी भएकाले यहाँका अन्य वडाहरूले पनि यस्ता अभियानबाट प्रेरणा लिनुपर्ने उल्लेख गरे । ‘स्वच्छ वातावरणले सेवाग्राहीलाई सहज अनुभूति दिलाउनुका साथै शहरको सकारात्मक सन्देश पनि प्रवाह गर्छ,’ उनले भने ।
अभियानअन्तर्गत सडक किनारमा जम्मा भएको फोहोर संकलन गर्नुका साथै झारपात सफा गर्ने, नाला व्यवस्थापन तथा सार्वजनिक क्षेत्रको सरसफाइ गरिएको सहभागीहरूले बताएका छन् ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


