जनकपुरधाम, ०७ जेठ । प्रादेशिक अस्पताल जनकपुरधाममा सुत्केरी महिलाको शल्यक्रियापछि मृत्यु भएको घटनामा संलग्न दुई जना चिकित्सकलाई अस्पताल प्रशासनले निलम्बन गरेको छ ।

सुत्केरी अँजिना यादवको मृत्यु भएको घटनापछि अस्पतालमा रातिदेखि नै तनाव उत्पन्न भएको थियो ।

परिवारजनले दोषी चिकित्सकमाथि कारबाहीको माग गर्दै नाराबाजी र विरोध प्रदर्शन गरेका थिए ।

घटनापछि बिहीबार दिउँसो अस्पताल प्रशासन, पीडित परिवार, प्रहरी, राजनीतिक प्रतिनिधि तथा सरोकारवालाबीच भएको सर्वपक्षीय छलफलले शल्यक्रियामा संलग्न डा. धीरज कुमार साह र डा. श्रेयालक्ष्मी साहलाई छानबिन अवधिभरका लागि निलम्बन गर्ने निर्णय गरेको हो ।

त्यसैगरी, घटनाको वास्तविक कारण पत्ता लगाउन छानबिन समिति गठन गर्ने सहमति पनि भएको छ ।

समितिको प्रतिवेदन नआएसम्म निलम्बन यथावत रहने निर्णय गरिएको अस्पताल स्रोतले जनाएको छ ।

अस्पतालका मेसु डा. जामुन सिंहमाथिसमेत लापरबाही भएको आशंका व्यक्त गर्दै छानबिन गरी दोषी ठहर भए कारबाहीका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सिफारिस गर्ने सहमति भएको छ ।

साथै, उपचारसम्बन्धी सम्पूर्ण रिपोर्ट, कागजात तथा प्रक्रिया पीडित परिवारलाई उपलब्ध गराउने, दोषी प्रमाणित भए क्षतिपूर्ति दिने र छानबिन समितिलाई ७ दिनभित्र प्रतिवेदन बुझाउनुपर्ने निर्णय पनि गरिएको छ ।

छानबिन अवधिभर अस्पतालको नियमित सेवा सञ्चालनमा कुनै अवरोध नगर्ने सहमतिसमेत सर्वपक्षीय छलफलमा गरिएको जनाइएको छ ।