गुजरातको धार्मिक टोलीलाई जनकपुरधाममा भव्य अभिनन्दन

जनकपुरधाम, ०७ जेठ । भारतको गुजरातबाट सुरु भएको एक विशेष धार्मिक तथा तीर्थयात्रा टोली जनकपुरधाम आइपुगेको छ ।
जनकपुरधाम अन्तर्राष्ट्रिय सुन्दरकाण्ड पाठ संघका संयोजक महामण्डलेश्वर पुरुषोत्तम दासजी महाराजको नेतृत्वमा आएको उक्त टोलीलाई जनकपुरधाममा भव्य स्वागत गरिएको हो ।
नेपाल–भारत जनमैत्री संगठन नेपालको सहकार्य तथा संगठनका महामन्त्री एवं समाजसेवी निर्मल दुगडको पहलमा आयोजित उक्त धार्मिक यात्रा अयोध्या, पुनौराधाम र जलेश्वर महादेवको दर्शन गर्दै जनकपुरधाम प्रवेश गरेको हो ।
यात्रामा ठूलो संख्यामा साधुसन्त, समाजसेवी तथा धार्मिक अभियन्ताहरूको सहभागिता रहेको आयोजकले जनाएको छ ।

जनकपुरधाम उपमहानगरपालिका–२३ प्रवेशसँगै टोलीलाई स्थानीयस्तरमा स्वागत गरिएको थियो ।
वडा नं. २३ का वडा अध्यक्ष राघवेन्द्र साहको नेतृत्वमा निर्माणाधीन रविन्द्र मेमोरियल हस्पिटलको प्राङ्गणमा विशेष स्वागत कार्यक्रम आयोजना गरिएको थियो ।
कार्यक्रममा वडाध्यक्ष साहले तीर्थयात्री टोलीलाई खादा तथा मालाले सम्मान गर्दै जनकपुरधाममा स्वागत गरेका थिए ।
सो अवसरमा अन्तर्राष्ट्रिय धार्मिक अभियन्ता भोगेन्द्र लाल कर्ण तथा मनोज ठाकुर लगायतको उपस्थिति रहेको थियो ।
त्यसैगरी, अस्पतालका डाइरेक्टर श्रीचन्द साह, इन्जिनियर अमित साह, सुपरभाइजर मुन्नी साह, गार्ड मोहन जिमी र बेचन मुखिया लगायतले टोलीलाई स्वागत गर्दै यात्राको सफलताको कामना गरेका थिए ।
आयोजकले यस धार्मिक यात्राले नेपाल–भारतबीचको सांस्कृतिक तथा धार्मिक सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन् ।







तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


