छात्रवृत्ति कार्यान्वयन नगर्ने विद्यालयमाथि कारबाहीको चेतावनी

जनकपुरधाम, ०७ जेठ । जनकपुरधाम उपमहानगरपालिकाले संस्थागत विद्यालयहरूमा निःशुल्क छात्रवृत्ति वितरण प्रक्रिया प्रभावकारी बनाउन पुनः सूचना जारी गर्दै तोकिएको कार्यविधि अनुसार छात्रवृत्ति परीक्षा सञ्चालन गर्न निर्देशन दिएको छ ।
उपमहानगरपालिकाले छात्रवृत्ति कार्यान्वयन नगर्ने तथा प्रवेश परीक्षा नलिने निजी विद्यालयमाथि कानुनअनुसार कारबाही गरिने चेतावनीसमेत दिएको छ ।
उपमहानगरपालिकाको शिक्षा, युवा तथा खेलकुद विकास शाखाले बिहीबार जारी गरेको सूचनामा यसअघि बैशाख २१ गतेदेखि ३१ गतेसम्म आवेदन फाराम भर्ने तथा जेठ ३ गते प्रवेश परीक्षा सञ्चालन गर्ने निर्णय गरिएको भए पनि केही संस्थागत विद्यालयले उक्त सूचना पालना नगरेको जनगुनासो आएपछि पुनः प्रक्रिया अघि बढाइएको उल्लेख गरिएको छ ।
उपमहानगरपालिकाले संस्थागत विद्यालय छात्रवृत्ति वितरण कार्यविधि–२०८१ अनुसार कक्षा १ देखि १० सम्म अध्ययन गर्ने विद्यार्थीलाई निःशुल्क छात्रवृत्ति उपलब्ध गराउन विद्यालयस्तरीय छात्रवृत्ति वितरण समितिमार्फत छनोट प्रक्रिया सञ्चालन गर्न निर्देशन दिएको हो ।
कार्यविधिको दफा ४.३, ४.४, ४.६ तथा ५.१ अनुसार छात्रवृत्ति कोटा निर्धारण र दफा ६.१ अनुसार आरक्षण व्यवस्थालाई अनिवार्य रूपमा कार्यान्वयन गर्न भनिएको छ ।
सूचनाअनुसार अब विद्यार्थीले आफू अध्ययन गरिरहेको वा अध्ययन गर्न चाहेको विद्यालयमै गएर आवेदन फाराम भर्नुपर्नेछ ।
पुनः निर्धारण गरिएको तालिका अनुसार जेठ ८ गतेदेखि जेठ १५ गतेसम्म आवेदन फाराम भर्ने, जेठ १७ गते बिहान ८ बजेदेखि प्रवेश परीक्षा सञ्चालन गर्ने तथा जेठ २० गते नतिजा प्रकाशन गर्ने कार्यक्रम तय गरिएको छ । परीक्षा केन्द्र सम्बन्धित विद्यालय नै रहने जनाइएको छ ।
उपमहानगरपालिकाले निःशुल्क छात्रवृत्ति सम्बन्धी प्रवेश परीक्षा सञ्चालन नगर्ने तथा छात्रवृत्ति कार्यान्वयन नगर्ने विद्यालयलाई कानुनी दायरामा ल्याइने स्पष्ट पारेको छ ।
यससँगै छात्रवृत्ति परीक्षाको नतिजा प्रकाशन गरी त्यसको एक प्रति उपमहानगरपालिकाको शिक्षा शाखामा अनिवार्य रूपमा बुझाउन पनि विद्यालयहरूलाई आग्रह गरिएको छ ।
यता, जनकपुरधाम उपमहानगरपालिकाले अवैध रूपमा सञ्चालन भइरहेका विद्यालयहरूको अनुगमन तथा आवश्यक कारबाहीका लागि तीन सदस्यीय उपसमिति समेत गठन गरेको जनाएको छ ।
उपमहानगरपालिकाले विद्यार्थीको शिक्षा अधिकार सुनिश्चित गर्न निजी विद्यालयहरूलाई जिम्मेवार बन्न आग्रह गर्दै छात्रवृत्ति वितरण प्रक्रियामा सहयोग गर्ने सम्पूर्ण संस्थागत विद्यालयप्रति आभार व्यक्त गरेको छ ।
शिक्षा शाखा प्रमुख अन्जु पाण्डेयद्वारा जारी सूचनामा विद्यार्थी, अभिभावक तथा सर्वसाधारणलाई समयमै आवेदन प्रक्रिया पूरा गर्न अनुरोध गरिएको छ ।
उपमहानगरपालिकाले शिक्षा क्षेत्रमा पारदर्शिता, समान पहुँच र कानुनी व्यवस्थाको कार्यान्वयनलाई प्राथमिकतामा राखेर अनुगमनलाई थप प्रभावकारी बनाउने जनाएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


