पर्साले जित्यो शहीद कपको उपाधि

जनकपुरधाम, ०७ जेठ । जनकपुरधाममा सम्पन्न शहीद कप महिला टी–२० क्रिकेट प्रतियोगिताको उपाधि पर्सा जिल्लाले हात पारेको छ ।
लगातार वर्षाका कारण निर्धारित फाइनल खेल सञ्चालन हुन नसकेपछि टसको आधारमा पर्सा विजेता घोषित भएको हो ।
प्रतियोगितामा सिरहा जिल्ला उपविजेतामा सीमित बनेको छ ।
निर्माणाधीन रामजानकी बहुउद्देश्यीय रङ्गशालामा आयोजना गरिएको प्रतियोगिताको फाइनल खेलका लागि दुवै टोली मैदानमा उत्रिने तयारीमा रहे पनि मौसम प्रतिकूल बनेपछि खेल सम्भव हुन सकेन ।
त्यसपछि आयोजकले प्रतियोगिताको नियमअनुसार टसको माध्यमबाट विजेता टुंग्याएको जनाएको छ ।
मधेश प्रदेशको खेलकुद तथा समाज कल्याण मन्त्रालयको आयोजना तथा नेपाल क्रिकेट सङ्घको समन्वयमा सञ्चालन भएको प्रतियोगितामा मधेश प्रदेशका आठ जिल्लाका महिला क्रिकेट टोलीको सहभागिता रहेको थियो ।
विजेता तथा उपविजेता टोलीलाई मधेश प्रदेशका प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णले शिल्ड, कप र प्रमाणपत्र प्रदान गरेका थिए ।
कार्यक्रममा बोल्दै उनले महिला खेलाडीहरूको क्रिकेटप्रतिको बढ्दो आकर्षण सकारात्मक संकेत भएको बताए ।
उनले पछिल्ला वर्षहरूमा नेपाली क्रिकेटले उल्लेखनीय लोकप्रियता हासिल गरेको उल्लेख गर्दै महिलाहरूको सहभागिता अझ सशक्त बन्दै गएको धारणा राखे ।
जिल्ला क्रिकेट संघ धनुषाका अध्यक्ष शोभाकान्त पाण्डे ‘गुड्डु’ले प्रतियोगिताले महिला क्रिकेट खेलाडीलाई प्रोत्साहन मिलेको बताए ।
त्यस्तै, संघका जिल्ला सदस्य सरोजकुमार मिश्रले यस्ता प्रतियोगिताले मधेश प्रदेशमा महिला क्रिकेटको पहिचान विस्तार गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


