जनकपुरधाम, ०७ जेठ । जनता समाजवादी पार्टी (जसपा) नेपाल मधेश प्रदेश संसदीय दलको नेतामा पूर्वमुख्यमन्त्री सरोजकुमार यादव सर्वसम्मत रूपमा चयन भएका छन् ।

बिहीबार बसेको संसदीय दलको बैठकले उनलाई दलको नेताको जिम्मेवारी दिएको हो ।

जसपा नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच पार्टी एकता सम्पन्न भएपछि प्रदेशस्तरमा समेत राजनीतिक समायोजनको प्रक्रिया अघि बढाइएको छ ।

यसअघि दुवै दलले प्रदेश सभामा छुट्टाछुट्टै संसदीय दलको कार्यालय सञ्चालन गर्दै आएका थिए । तर, प्रदेशस्तरमा एकताको टुङ्गो लागेसँगै संयुक्त संसदीय संरचना निर्माण गरिएको हो ।

दलको नेतामा यादव चयन भएसँगै मधेश प्रदेशमा जसपा नेपालको राजनीतिक प्रभाव थप मजबुत भएको आकलन गरिएको छ ।

प्रदेश सभामा अब जसपा नेपाल २६ जना प्रदेशसभा सदस्यसहित सबैभन्दा ठूलो दल बनेको छ । यद्यपि, उक्त संख्यामध्ये एक जना सभामुख रहेका छन् भने दुई जना प्रदेशसभा सदस्य निलम्बनमा छन् ।

निलम्बितमध्ये एक जना प्रदेशसभा सदस्यविरुद्ध भ्रष्टाचारसम्बन्धी मुद्दा चलिरहेको छ भने अर्का एक जना मधेश आन्दोलनका क्रममा सशस्त्र प्रहरीका असई थमन बिक हत्या प्रकरणमा जिल्ला अदालतबाट जन्मकैदको फैसला भएपछि निलम्बनमा परेका हुन् ।

यसअघि मधेश प्रदेश सभाको सबैभन्दा ठूलो दल रहेको नेकपा एमाले अहिले २४ जना प्रदेशसभा सदस्यसहित दोस्रो स्थानमा पुगेको छ ।

त्यस्तै, नेपाली कांग्रेस २२ जना सदस्यसहित तेस्रो ठूलो दलका रूपमा रहेको छ ।

प्रदेश सभामा नेकपा माओवादी केन्द्र चौथो तथा जनमत पार्टी पाँचौँ ठूलो दल बनेका छन् ।

यसबाहेक नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीका एक–एक जना प्रदेशसभा सदस्य रहेका छन् ।

प्रदेश राजनीतिमा दलहरूको नयाँ शक्ति सन्तुलन बनेसँगै आगामी सरकार गठन र विश्वासको मत सम्बन्धी समीकरणमा समेत यसको प्रभाव पर्ने राजनीतिक विश्लेषकहरूको भनाइ छ ।